तुइनखोलामा ठूलो पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक फेरि पूर्णरूपमा अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा मंगलबार दिउँसो पुनः सुक्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित उक्त स्थानमा लगातार पहिरो खसिरहेकाले दुईतर्फी सवारी सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । 

उनका अनुसार मंगलबार अपरान्ह ३ः२० बजे खसेको भीषण सुख्खा पहिरो अहिले पनि निरन्तर खसिरहेकोले सडक खुलाउने प्रयासमा कठिनाइ भइरहेको छ । पहिरो खसिरहेकै कारण सडक नै भासिन सक्ने जोखिम बढेको जनाउँदै सुरक्षाका लागि सवारीसाधनहरूलाई तत्काल फर्काइएको छ । 

तुइन खोलामा पहिरोको संकट नयाँ भने होइन। । शुक्रबार साँझ ६ः०० बजेदेखि सुरु भएको सुख्खा पहिरोको श्रृंखला मंगलबारसम्म आइपुग्दा अझ भयावह बनिरहेको छ । मंगलबार बिहान मात्र धादिङको बेनीघाट रोराङ-१०, जवाङखोला (बाँदरे मोड) मा खसेको अर्को पहिरो झन्डै १० घण्टा प्रयासपछि हटाइएको थियो। त्यसपछि मात्र सडक दुईतर्फी रुपमा खुलाइएको थियो। तर अपरान्ह पुनः ठूलो पहिरो खस्दै आएको छ ।

प्रहरी र सडक विभागले जोखिमलाई मध्यनजर गर्दै सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। विशेषगरी काठमाडौं प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने यात्रुहरूले वैकल्पिक बाटो रोज्नुपर्ने अवस्था आएको छ ।

सडक विभागका अनुसार हाल प्रयोग गर्न सकिने तीन वैकल्पिक मार्गहरूमा काठमाडौंदेखि हेटौंडा हुँदै नारायणगढ, त्रिशूली-धुन्चे-गल्छी मार्ग, सिद्धलेक-गजुरी हुँदै जान सकिने जनाएको छ ।

सुक्खा पहिरो निरन्तर खसिरहेको र भु-स्खलनको सम्भावना कायमै रहेकाले स्थानीय प्रशासनले जोखिम मोलेर यात्रा नगर्न अनुरोध गरेको छ । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास हुनेछ । 

Share News