मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा, ढुंगा झर्ने क्रम रोकिएन

काठमाडौं । तुइन खोलानजिक पटक-पटक खसेको पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

भरतपुर सडक डिभिजनका अनुसार एकतर्फी रूपमा सवारीसाधन गुड्न थालेका हुन् । यद्यपि पहिरो हटाइए पनि ढुंगा झर्ने क्रम जारी रहेकाले दुईतर्फी रूपमा सडक सञ्चालन गर्न अझै सम्भव भएको छैन । 

सडक डिभिजनले यात्रु र चालकहरूलाई लेन अनुशासन पालना गर्न र सचेत रहन आग्रह गरेको छ । सडक डिभिजन भरतपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुग्लिन-नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी सञ्चालनमा आएको बेहोरा जानकारी गरिन्छ । दुईतर्फी आवागमन खुलाउन प्रयासरत छौं । तर ढुंगा झर्ने क्रम जारी नै छ। कृपया लेन अनुशासनको पालना गर्नुहुन अनुरोध छ । ’

यसैबीच, मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकै अर्को पहिरो जाँदा उक्त खण्ड भने दुवैतर्फ अवरुद्ध भएको छ । यस्तो अवस्थामा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित रूपमा यात्रा गर्न डिभिजनले अनुरोध गरेको छ । 

सडक डिभिजन भरतपुरका अनुसार आवश्यक नपरेसम्म उक्त सडकखण्ड प्रयोग नगर्नु र स्थानीय प्रशासन वा ट्राफिकको अपडेटअनुसार यात्रा तय गर्नु उचित हुनेछ । 

Share News