काठमाडौं । तीन दिन लगाएर खुलाइएको नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहानैदेखि ढुंगा खस्ने क्रम नरोकिएपछि यातायात आवागमन पुनः अवरुद्ध भएको छ ।
आज बिहान सुख्खा पहिरोसँगै ढुंगा खस्न थालेपछि सवारी साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।
डिभिजन सडक कार्यालय चितवनका सवइन्जिनियर सुजन थापा मगरका अनुसार यो पूर्ण पहिरो नभई माथिबाट साना/ठूला ढुंगा खस्ने क्रम (रफल) हो ।
उनले हिजो दिनभर दुईतर्फी सञ्चालनमा आएको सडक आज बिहानै सुख्खा पहिरोका कारण प्रभावित बनेको बताए ।
‘आज बिहान एकछिन वान वे चलाइएको थियो तर ढुंगा खस्ने क्रम नरोकिएपछि अहिले एकछिनका लागि रोकिएको छ,’ थापाले भने ।
सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको तर माथिबाट लगातार ढुंगा खस्ने कारणले समस्या भइरहेको उनले बताए ।
ढुंगा खस्न रोकिएपछि मात्र गाडीहरुलाई पालैपालो वान वे र त्यसपछि टु वे सञ्चालनमा ल्याउने योजना रहेको छ ।