काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग अन्तर्गत दुई सडक खण्डको आज अवलोकन गरेका छन् । विस्तारित दुई खण्ड सूर्यविनायक-धुलिखेल तथा धुलिखेल-खावा सडक खण्डको अनुगमन गरी चाडपर्वमा यात्रा सहज बनाउन उनले निर्देशन दिए ।
मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरी चाडपर्वलाई ख्याल गर्दै आवागमनलाई सहज बनाउन निर्देशन दिए ।
‘सडकमा खाल्डाखुल्डी पुरेर भए पनि यात्रा सहज बनाउन निर्देशन दिनुभएको छ । हामी सोहीअनुसार तयारी गर्दैछौँ,’ मन्त्री घिसिङको भनाइ उद्धृत गर्दै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।
उनका अनुसार विस्तारित अरनिको राजर्मागका राजमार्गको क्षतिग्रस्त सडकमा खाल्डाखुल्डी पुरेर यात्रा सहज गराउन हाल आवश्यक जनशक्तिसहित उपकरण प्रयोग गरिएको छ । घिसिङले चालु आर्थिक वर्षभित्र सडक बिस्तार कार्य सम्पन्न गर्न र त्यसका लागि बजेट अभाव हुन नदिन मन्त्रालयले पहल गर्ने बताए ।
यसैबीच वर्षाका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल सडक खण्डमा स्तरोन्नतिको काम भदौदेखि पुनः सुरु गरिएको छ । बनेपा नगरपालिका-१० स्थित जनागाल क्षेत्रमा कालोपत्रे गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सडक कालोपत्र गर्नका लागि ‘सिटिबी’को काम भइरहेको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको हो ।
जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ ‘सिटिबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । यसअघि असार र साउन महिनामा मनसुनका कारण बिस्तार कार्य रोकिएको उनको भनाइ छ ।
बनेपाको पुलबजार क्षेत्रमा भने करिब ६ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध गरेपछि बिस्तार कार्य रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गरिरहेका छन् । अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन ।
हाल बनेपाको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माणकार्य भइरहेको छ । पुल बजारबाहेक सूर्यविनायकदेखि धुलिखेलसम्मका अन्य स्थानमा भने छोटो खण्ड-खण्डमा काम भइरहेको खनालले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा पर्खाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ भने केही दिनमै सडक कालोपत्रका लागि तयारी भइरहेको छ । धुलिखेलको २८ किलो भन्ने स्थानमा एक घर हटाउन तथा केही स्थानमा विद्युतको हाइटेन्सन लाइनका पोल सार्न बाँकी रहेको जनाइएको छ ।
विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भई विस्तारको काम भइरहेको छ । हाल दुई खण्डमध्ये सूर्यविनायक-साँगा खण्डको ३७ प्रतिशत र साँगा-धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिए । साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समय सीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने उनले बताए ।
उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडक खण्ड बिस्तार कार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि ४ लेनमा सडक बिस्तार थालिएको हो ।