काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक-धुलिखेल सडक खण्डको अनुगमन गरेका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उहाँले सो सडक खण्डको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले दशैँ–तिहारजस्ता चाडपर्वमा यातायात सहज हुनेगरी सो सडक खण्डको खाल्डाखुल्डी तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री घिसिङको सो सडक खण्डको विस्तार कार्यका लागि बजेटको अभाव हुन नदिने पनि बताए । सो सडक खण्डको विस्तारको लागि आगामी आर्थिक वर्षभित्र सकिने गरी काम गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए ।
मन्त्री घिसिङले भने, ‘यो आर्थिक वर्ष असारसम्म हामी पिचको काम सम्पन्न गर्ने चरणमा छ । र जतिपनि खाल्डाखुल्टी छ । दशैँभरी सक्ने गरी काम गरिरहनुभएको छ । दशैँ तिहारको लागि जहाँ खाल्डाखुल्टी छ । त्यसलाई स्मुथ बनाउने र काम पनि असारसम्म सकिने छ । यसलाई प्राथमिकतामा राखेर काम सम्पन्न गर्नुपर्छ ।’
त्यस अवसरमा स्थानीयले सो सडक खण्डको विस्तारको काम सम्पन्न गराउनका लागि मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए ।