भारत–पाकिस्तानसहित सात युद्ध रोकिएको दाबी गर्दै ट्रम्पले मागे ‘नोबेल’ पुरस्कार

फाइल तस्बिर ।

काठमाडौं । डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानसहित सात संघर्ष रोकिएको दाबी गर्दै नोबेल पुरस्कारको माग गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक नोबेल पुरस्कारको कुरा उठाएका छन् । यस क्रममा उनले भारत र पाकिस्तानबीच गत मे महिनामा भएको संघर्षको पनि उल्लेख गरेका छन् ।

शनिबार राति (अमेरिकी समय अनुसार) एक कार्यक्रममा ट्रम्पले भने, ‘ट्यारिफ र व्यापारका कारण हामी सातवटा अलग–अलग युद्ध रोक्न सफल भयौं… हामीले भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचको युद्ध रोक्यौं ।’

‘आर्मेनिया र अजरबैजान वर्षौंदेखि लड्दै आएका थिए… भारत र पाकिस्तानबीचको युद्धलाई व्यापारमार्फत रोक्यौं । उनीहरू व्यापार गर्न चाहन्थे,’ उनले थपे ।

ट्रम्पले आफूले गर्दा  सबै युद्ध रोकिएको र ६० प्रतिशत देश व्यापारकै कारण रोकिएको दावीसमेत गरे । 

ट्रम्प यसअघि पनि धेरैपटक भारत–पाकिस्तानबीचको संघर्ष रोक्ने दाबी गरिसकेका छन् । तर भारतले हरेक पटक उनको दाबी खारेज गर्दै आएको छ ।

Share News