काठमाडौं । एक वर्ष अघिको बाढी पहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण गरिएको बीपी राजमार्ग चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्ने गरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयले बाढी पहिरोपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरेको थियो । यसपटकको वर्षामा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै स्रोत साधन तयारी अवस्थामा राखेर खाल्डा खुल्डी पुरेर यात्रा सहज बनाइने कार्यालयले जनाएको छ ।
यसपालिको क्षति रोक्न काभ्रेपलाञ्चोक तर्फको चौकीडाँडा, कटुञ्जे बेँसी, मङ्गलटार र माम्तीमा ग्याबिन जालीसहित पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन विभिन्न उपकरण तयारी अवस्थामा राखिएका छन् । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै तत्काल हटाउन सडक पुनः निर्माणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएका बताए ।
‘दसैँ तिहारलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन सजगता अपनाइएको छ, एक/दुई दिनभित्र सडकका खाल्डाखुल्डी पुरेर सडक सुधार गर्दै यात्रा सहज बनाउन लागिएको छ,’ उनले भने ।
उनका अनुसार सडकलाई ‘ग्रेडिङ’ गरेर ‘रोलिङ’ गर्न लागिएको हो । विसं २०८१ असोजको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत २९ किलोमिटर सडक खण्डलाई चार खण्डमा पुनः निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । बाढी पहिरोले ८ किलोमिटर सडक पूरै बगाएको थियो । क्षतिग्रस्त बीपी राजमार्ग पुनः निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो । उक्त सडक खण्ड क्षतिग्रस्त भएपछि गत सालको दसैँमा त्यस मार्ग भएर पूर्वतर्फ घर जान चाहनेले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।
‘यो मनसुनमा राजमार्ग अवरुद्ध हुन दिइएन, अब दशैँलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत थाल्दैछौँ, वैकल्पिक सडक गर्नुपर्ने बाध्यता हुन नदिनेगरी मर्मत गर्दैछौँ,’ योगेशले भने ।
उनका अनुसार बाढीपहिरो आए निर्माण व्यवसायीले नै खुलाउने सम्झौता भएको छ । यसका लागि ठेक्का लागेका व्यवसायी मेसिन लिएर बाढीपहिरो आए सडक खुलाउन तैनाथ रहेको योगेशको भनाइ छ । उक्त राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । त्यसअघि राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म १२ घण्टा राजमार्गमा यात्रु बाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आएको थियो ।
हाल दैनिक करिब ३ हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडपर्वका बखत तेबर सवारी साधन ओहोरदोहोर गर्छन् । उक्त राजमार्ग दुई वर्षमा पुनः निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको छ ।
क्षतिग्रस्त राजमार्गको पाँच किमी सडक खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्ने छ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताए । बाँकी सिन्धुली तर्फको एक सडक खण्ड र काभ्रेपलाञ्चोक तर्फको दुई सडक खण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उनको भनाइ छ ।
उक्त यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब २ लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको खुर्कोट सडक खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्ड खण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस