काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी तथा निजी कार्यालयदेखि विभिन्न पूर्वाधारसम्म जलेर नष्ट भए । ती भवनहरू र संरचनाहरू भग्नावशेषमा परिणत भएका छन् जसका कारण खर्बौंको क्षति भएको अनुमान छ ।
जानकारहरूका अनुसार ठूलो स्तरमा भएको क्षतिपछि पुनःनिर्माणका लागि सिमेन्टको माग उल्लेख्य रूपमा बढ्ने देखिएको छ । कुनै समय विदेशी सिमेन्ट आयातमा निर्भर रहनुपर्ने अवस्था भए पनि हाल स्वदेशी सिमेन्ट उत्पादन पर्याप्त मात्रामा भइरहेको छ र घर, भवन, पुल, विमानस्थल तथा जलविद्युत आयोजनासम्मका विकास परियोजनामा स्वदेशी सिमेन्टकै प्रयोग व्यापक छ ।
विमानस्थल, जलविद्युत आयोजना, पुल वा बहुमञ्जिला भवनलगायत सबै प्रकारका परियोजनाहरू नेपाली सिमेन्टकै भरमा अगाडि बढिरहेको पाइन्छ । यति मात्रै होइन, भारतजस्ता छिमेकी देशहरूमा समेत नेपाली सिमेन्टको निर्यात र खपत भइरहेको छ।
जेनजीहरूको आन्दोलनले क्षति भएका संरचनाको पुननिर्माणमा सिमेन्टको माग बढ्ने तर मूल्य नबढ्ने व्यवसायीहरू बताउँछन् । नेपालको सिमेन्ट बजारमा आपूर्ति बढी भएकाले मूल्यमा ठूलो उतारचढाव नआउने अनुमान व्यवसायीहरूको छ।
माग बढ्ने भएपनि सिमेन्टको मूल्यमा भने खासै ठूलो परिवर्तन नआउने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारुले बताए । पुनः निर्माणका लागि आवश्यक फण्डको अभाव र मागभन्दा बढी आपूर्ति भएका कारणले मूल्यमा ठूलो घटबढ नगराउने उनको भनाइ छ ।
अध्यक्ष मारुले भने, ‘पुनःनिर्माणको आवश्यकता एकदमै जरुरी छ । देशका यति धेरै सरकारी र निजी संरचनाहरू ध्वस्त भएका छन् । पुनः निर्माणमा सिमेन्टको प्रयोग अपरिहार्य छ । तर मूल्यमा त्यति धेरै फरक नपर्ला ।’
व्यवसायीहरूले सिमेन्टसँगै ग्रिल, स्टिल, सिसा, फर्निचर लगायतको खपत बढ्ने आँकलन गरेका छन् ।
हाल सिमेन्टको माग स्थिर अवस्थामा रहेको छ । सिमेन्ट व्यवसायीहरूका अनुसार ओपीसी सिमेन्टको मूल्य ६ सय ३० देखि ८ सय रुपैयाँसम्म रहेको छ भने पीपीसी सिमेन्टको मूल्य ५ सय ९० देखि ६ सय ५० सम्म छ ।
दशैं-तिहार नजिकिदै गर्दा संरचनाको निर्माण कार्य चाडपर्व पछाडि सुरु हुने अध्यक्ष मारुले अनुमान गरे ।
नेपालको माग स्वदेशी सिमेन्ट उद्योगले मजाले पूरा गर्न सक्ने उनले ले दावी गरे।
‘नेपाली सिमेन्ट उद्योगको क्षमता २० मिलियन टन रहेको छ । माग सजिलै धान्न सक्छ,’ उनले भने ।
जेनजी आन्दोलनले निजी सम्पत्तिहरू जस्तै भाटभटेनीमा भएको क्षतिले उद्योगीहरूको मनोबल धेरै खस्किएको र लगानी गर्ने सोच्न सक्ने अवस्थामा नरहेको अध्यक्ष मारुको भनाइ छ ।
‘भाटभटेनीजस्ता सुपर स्टोरहरू हाम्रो देशको गौरव थिए । आज जसरी जलाइयो, यसबाट उद्योगीहरूको मनोबल धस्किएको छ,’ उनले भने ।
उनले लगानीको सुरक्षा हुन नसकेमा भएको लगानी पनि बाहिरिनेमा चिन्ता व्यक्त गरे ।
यसैगरी, होङ्सी सिमेन्टका कृष्ण अधिकारी पनि सिमेन्टको मूल्य सामान्य रूपले बढ्न सक्ने बताउँछन् ।
उनले भने, ‘ठूला-ठूला संरचनाहरू भत्किएका छन् । तिनीहरूलाई पुनः निर्माण गर्न केही हदसम्म सिमन्टको माग त बढ्छ नै । तर मूल्यमा भने त्यति धेरै असर पर्दैन ।’
सिमेन्ट उत्पादक संघका पूर्वमहासचिव तथा सिमेन्ट उद्योगी केशव उप्रेती पनि माग बढेपनि मूल्यमा त्यतिधेरै फरक नपर्ने बताउँछन् ।
‘माग त स्वतः नै बढ्छ तर, मूल्य बढ्ने अथवा घट्ने कुरा भने हुँदैन,’ उनले भने ।
आगामी केही महिनासम्म सिमेन्टको कारोबार राम्रो हुने उनको आंकलन छ ।