काठमाडौं । उत्तरपूर्वी चीनमा हवाई प्रदर्शनको अभ्यासको क्रममा दुई उड्ने कार एक-आपसमा ठोक्किँदा एक पाइलट घाइते भएका छन् र एक कार जमीनमा खसेर आगो लागेको छ ।
अनलाइनमा भाइरल भिडियोहरू र चिनियाँ सरकारी मिडियामा देखाइएका दृश्यमा एउटा कारबाट बाक्लो धुवाँ उठिरहेको देखिन्छ, जबकि दमकल र एम्बुलेन्स घटनास्थलमा दौडिरहेका छन् ।
यो दुर्घटना मंगलबार अपराह्न चाङचुन, जिलिन प्रान्तमा भएको हो, जहाँ सहरले शुक्रबारबाट सुरु हुन लागेको पाँच दिने हवाई प्रदर्शनको तयारी गरिरहेको थियो । उड्ने कारहरू वा इलेक्ट्रिक भर्टिकल टेक–अफ र ल्यान्डिङ (ईभीटीओएल) सवारीसाधनहरू, चिनियाँ इलेक्ट्रिक वाहन कम्पनी एक्सपेङको सहायक कम्पनी एक्सपेङ एरोहटद्वारा विकास गरिएका हुन् ।
सीएनएनलाई कम्पनीले दिएको बयानमा भनिएको छ– ‘अपर्याप्त दूरी’का कारण कारहरू ठोक्किँदा एउटा सवारीसाधनको फ्युजलेज क्षतिग्रस्त भयो र अवतरणको समयमा आगो लाग्यो ।’
‘घटनास्थलमा रहेका सबै कर्मचारी सुरक्षित छन् र स्थानीय अधिकारीहरूले व्यवस्थित रूपमा आपतकालीन उपायहरू पूरा गरेका छन्,’ बयानमा भनिएको छ । साथै अनुसन्धान जारी रहेको जानकारी दिइएको छ ।
कम्पनीको एक कर्मचारी, जसले नाम नखुलाउने शर्तमा सीएनएनलाई भने कि दुई सवारीसाधनहरू नजिकैको फर्मेसनमा निकै स्टन्ट प्रदर्शन गर्दै थिए ।
यसैबीच, देशभरका सहरहरूले पार्सल, खाना र मेडिकल आपूर्ति वितरणको लागि बिना चालक ड्रोन परीक्षण गरिरहेका छन् । कम्युनिष्ट पार्टीको मिडिया पिपल्स डेलीका अनुसार २०२३ सम्म चीनमा २ हजारभन्दा बढी ड्रोन निर्माताहरू र २० हजारभन्दा बढी कम्पनीहरूले बिना चालक हवाई सवारीसाधन सञ्चालन गरिरहेका थिए ।