हितेन्द्रदेवलाई हटाउने ऊर्जामन्त्री घिसिङको तयारी, मार्गप्रशस्त गर्न आग्रह

काठमाडौं । ऊर्जामन्त्री ​​कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरेका छन् । स्रोतका अनुसार उनले प्राधिकरणका प्रमुख शाक्यलाई हटाउने तयारी गरेका हुन् ।

यो घटनाक्रम राजनीतिक र प्राधिकरण भित्रको शक्ति समीकरणसँग जोडिएको मानिएको छ । 

प्राधिकरणमा घिसिङको पहिलो कार्यकाल अत्यन्त सफल मानिएको थियो । उनको दोस्रो कार्यकाल सकिन ६ महिना बाँकी रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए। 

सत्ता फेरिएसँगै मन्त्री बनेका घिसिङले प्राधिकरणभित्र नेतृत्व परिवर्तन गर्न लागेको स्रोतले जानकारी दियो । 

स्रोतका अनुसार मन्त्री घिसिङ प्राधिकरणलाई पुनः सशक्त बनाउने योजना लिएर अगाडि बढेका छन् ।

घिसिङको पहिलो कार्यकाल २०७७ भदौमा सकिएको थियो । उनी २०७८ साउनमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका थिए । 

उनको पहिलो कार्यकाल सकिएपछि प्राधिकरणको नेतृत्वमा शाक्य थिए ।

करिब ३३ वर्षदेखि विद्युत प्राधिकरण अन्तर्गतका निकायमा काम गरेका शाक्यलाई २०७७ कात्तिक ११ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । 

२०७७ मंसिरमा उनलाई प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशको जिम्मेवारी दिइएको थियो । त्यस्तै, २०७७ फागुनमा उनले चार वर्षका लागि कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए।

उनलाई यसअघि कार्यकारी निर्देशक नियुक्त गर्दा पनि केपी ओली नै प्रधानमन्त्री थिए । सरकार परिवर्तन भएपछि उनलाई २०७८ साउनमै कार्यकारी निर्देशकबाट हटाइएको थियो । 

आफूलाई हटाउनुको स्पष्ट कारण नभएको भन्दै शाक्यले सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट हालेका थिए ।

Share News