चार्ली किर्क हत्या प्रकरणमा बाहिरियो गोप्य नोट, अभियुक्तले के लेखेका थिए ?

काठमाडौं । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कलाई गोली हानी हत्या गर्ने अभियुक्तबारे सरकारी वकिलहरूले ठूलो दाबी गरेका छन् ।

सरकारी अभियोजन पक्षका वकिलहरूका अनुसार अभियुक्तले आफ्नै कोठामा बस्ने साथीलाई लेखेको गोप्य सन्देशमा अपराध स्वीकार गरेका थिए । २२ वर्षका टायलर रोबिन्सनमाथि किर्कको हत्या गरेको आरोप लगाइएको छ ।

युटाका अधिवक्ता जेफ्री ग्रेले बताएअनुसार अभियुक्तले आफ्नो कोठामा बस्ने साथीका लागि कम्प्युटरको किबोर्ड मुनि नोट छोडेका थिए । उनले यो पनि बताएका थिए कि सो साथी अभियुक्तको प्रेमसम्बन्धी पार्टनर थिए।

ग्रेअनुसार सो नोटमा लेखिएको थियो, ‘मलाई चार्ली कर्कलाई समाप्त गर्ने मौका मिलेको छ र म यो गर्न जाँदैछु ।’

अभियोजन पक्षले दुबै कोठासाथीबीच भएका टेक्स्ट सन्देशहरू पनि प्रस्तुत गरेका छन् । तीमध्ये एकमा अभियुक्तले कर्कलाई गोली हानेको स्वीकार गर्दै भनेका थिए कि उनी ‘उनको घृणाबाट दिक्क भएका कारण’ यस्तो कदम चालेका थिए ।

चार्ली किर्क अमेरिकाका सबैभन्दा चर्चित कन्जर्भेटिभ कार्यकर्ता र मिडिया हस्तीहरूमध्ये एक थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भरपर्दा सहयोगी मानिन्थे ।

गत हप्ता बुधबार युटाको एक कलेजमा उनलाई गोली हानी हत्या गरिएको थियो ।

Share News