काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी युवापुस्ताले गरेको प्रदर्शनमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिबाट करिब २७ अर्बमाथिको बीमा दाबी आइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार क्षतिको विवरण अझै पूर्ण रूपमा आइनसकेको हुँदा यो रकम अझै बढ्न सक्ने छ । प्राधिकरणले यसअघि नै पत्र नै जारी गरी यथाशीघ्र बीमा दाबी फर्छ्याैट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ ।
प्राधिकरणले यसअघि असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत निर्देशन दिएका थियो । प्राधिकरणको निर्देशनअनुसार भोलि (असोज) १ गतेभित्र दाबीको विवरण पेश गरिसक्नुपर्नेछ ।
प्राधिकरणले बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्याैट गर्न निर्देशन दिइसकेको छ ।
त्यस्तै, प्राधिकरणले बीमा लेखमा उल्लेख भएको सर्तअनुसार कम्पनीले दाबी भुक्तानी नगरेमा आफूकहाँ उजुरी गर्न समेत आग्रह गरेको छ ।
‘बीमा कम्पनीले बीमा लेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्नेगरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले नेपाल बीमा प्राधिकरणसमक्ष उजुरी गर्न सक्ने बेहोरासमेत अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ, ‘मिति २०८२ भदौ २३ र २४ गते उत्पन्न विषम परिस्थितिबाट जनधनको क्षति भएका बीमितहरूलाई बीमा लेखको सर्त बमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।’
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूबाट दाबीको विवरण आउने क्रम रहेको र भोलि सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।
जेनजी आन्दोलनको क्रममा हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति पुगेको छ भने ५ अर्बभन्दा बढीको दाबी परेको छ । त्यस्तै, भाटभटेनी सुपरमार्केटबाट पनि अर्बाैं रुपैयाँ बराबरको बीमा दाबी पर्ने देखिन्छ ।