जेनजी आन्दोलनमा काठमाडौंमा एक हजारभन्दा बढी सरकारी गाडी जले

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा मात्रै एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा आगजनी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । विभिन्न सरकारी निकायहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार आन्दोलनका क्रममा ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गरी कुल १ हजार ०४२ वटा सरकारी सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् ।

यद्यपि, अधिकारीहरूले दुईपांग्रे सवारीसाधनको संख्यालाई तुलनात्मक रूपमा न्यून भएको बताएका छन् । सरकारी तथा निजी सवारीसाधनमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको कुल आर्थिक क्षतिको मूल्याङ्कन गर्न अझै केही समय लाग्ने सरकारी अधिकारीहरूको भनाइ छ । 

विवरणअनुसार सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारीसाधन नष्ट भएका छन् । त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा गाडी जलेका छन् । 

यस्तै, शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी आगजनीबाट नष्ट भएका छन् ।

भदौ २३ गतेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि उच्चपदस्थ कर्मचारीहरूले सरकारी सवारीसाधनहरूलाई कार्यालय परिसरमै पार्किङ गर्न निर्देशन दिएका थिए । तर, भदौ २४ गते आन्दोलन अझ हिंसात्मक बनेपछि सिंहदरबार परिसरभित्र र बाहिरका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनीका घटना घटेका थिए । 

त्यसक्रममा आगो लागेका सवारीसाधनहरू अहिले पनि सरकारी कार्यालय परिसरहरूमा देखिन सकिन्छ । 

Share News