राष्ट्र बैंकले १.२० अर्ब रुपैयाँ बैंकमा लगानी गर्ने, ८ प्रतिशत निष्क्रिय कर्जा भएकाले आवेदन दिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ ।

केन्द्रीय बैंकले भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

Share News