अवरुद्ध यातायात सेवा तत्काल सुचारु गर्नुपर्छ: ट्रक व्यवसायी

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हाल अवरुद्ध भएको सडक यातायात सेवा तत्काल सुचारु गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका मागहरूलाई शान्तिपूर्ण संवाद र सहकार्यको माध्यमबाट सम्बोधन गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको हो । 

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा राजनीतिक, सामाजिक र आर्थिक सुधारका विषयमा उठाइएका मागहरू सरकार, सम्पूर्ण राजनीतिक दलहरू तथा सरोकारवाला निकायहरूले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइएको छ । 

विज्ञप्तिमा कठिन परिस्थितिमा पनि नेपालका सुरक्षा निकाय तथा नागरिक समाजका अगुवाहरूप्रति विश्वास व्यक्त गर्दै, सहकार्यद्वारा देशलाई शान्ति, समृद्धि र स्थायित्वतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ । 

महासंघले संविधानको रक्षा गर्दै सडक यातायात सञ्चालन गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ । 

महासंघका अनुसार यातायातको सहज प्रवाह विना मुलुकको आर्थिक गतिविधि असम्भव हुन्छ । उद्योग–व्यापार, कृषि उत्पादन र सर्वसाधारणको दैनिकी समेत यसैमा निर्भर हुने भएकाले सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भौतिक, सामाजिक र आर्थिक जीवनको मेरुदण्ड मानिने यातायात क्षेत्र पछिल्ला केही दिनदेखि पूर्ण रूपमा ठप्प छ । सवारीसाधन नचल्दा दैनिक उपभोग्य वस्तु, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसम्म गम्भीर असर परेको छ । यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा पारेको छ भने सर्वसाधारण नागरिकले पनि ठूलो कठिनाइ भोगिरहेका छन् । ’

महासंघले कानुनसम्मत रूपमा व्यवसाय सञ्चालन गर्ने, कर तिर्ने, रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्र चलायमान बनाउने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने माग गरेको छ ।

साथै, आन्दोलनका कारण दैनिक रूपमा घाटा बेहोरिरहेको यो क्षेत्रका व्यवसायीलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।

Share News