काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं मीनभवनस्थित यातायात व्यवस्था विभाग जलेर नष्ट भएको छ ।
आगजनीमा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने मेसिनलगायत अन्य सामाग्री जलेर ध्वस्त भएको विभागले जनाएको छ ।
अहिले जीर्ण अवस्थामा रहेको भवन मर्मत गरेर चलाउन सक्ने अवस्था नरहेको विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवले जानकारी दिए । विभागका अनुसार करिब २० हजार लाइसेन्स वितरणका लागि राखिएको थियो।
यादवले लाइसेन्ससहित इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र लाइसेन्स छाप्ने मेसिन जलेर ध्वस्त भएको जानकारी दिए । विभागबाट लिने सेवा सुरु हुन अझै दुई महिना लाग्नसक्ने उनले बताए ।
यसअघि विभागले तत्काल लाइसेन्स आवश्यक पर्नेलाई निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराउँदै आएको थियो । अहिले भने वैदेशिक रोजगारीमा जाने तथा सुरक्षा निकाय कसैलाई पनि तत्काल लाइसेन्स आवश्यक परे उपलब्ध नहुने भएको छ ।
विभागमा रहेको एउटा मात्र लाइसेन्स छपाइ गर्ने मेशिन आगलागीबाट ध्वस्त भएपछि सेवा अनिश्चित बनेको हो । विभागले असोज १ बाट नयाँ दर्ता, नवीकरण र नामसारी गर्दा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो ।
विभागका अनुसार साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएका थिए । त्यसमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र त्यसअन्तर्गतका कार्यालयमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै थियो । ६ लाख १९ हजार इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएको विभागको भनाइ छ ।
विभागका अनुसार साउनसम्म दुईपांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीनपांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो ।
अहिले कोशीबाहेक बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णालीका लागि नम्बर प्लेट तयार थियो । यसमध्ये थोरै संख्यामा मात्र पठाइएको थियो ।
यस्तै, विभागका अनुसार कार्यालयमा पार्किङ गरेर राखिएका ७ वटा गाडी जलेर नष्ट जलेका छन् ।