काठमाडौं । भारतको राजधानी दिल्लीमा आयोजित सेमिकन इन्डिया २०२५ सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सेमिकन्डक्टर उद्योगका लागि ठूलो र महत्त्वाकांक्षी दृष्टिकोण सार्वजनिक गरेका छन् ।
उनले देशभर १८ अर्ब डलर (१.५ लाख करोड भारुभन्दा बढी) लागतका १० वटा सेमिकन्डक्टर परियोजनामा तीव्र गतिमा काम भइरहेको घोषणा गरे ।
मोदीले भने, ‘त्यो दिन टाढा छैन जब भारतमै बनेको सानोभन्दा सानो चिपले विश्वमै ठूलो परिवर्तन ल्याउनेछ ।’
भारतको उद्देश्य घरेलुस्तरमै बनेका चिप्समार्फत उदाउँदो प्रविधिलाई सबल बनाउँदै विश्व बजारमा ठूलो हिस्सा लिनु हो । विश्वव्यापी चिप बजार हाल ६०० अर्ब डलरको छ, जसलाई १ ट्रिलियन डलरभन्दा माथि पुर्याउने सम्भावना छ ।
प्रधानमन्त्री मोदीले भने, ‘दुनियाँ चाँडै भन्न थाल्नेछ– ‘डिजाइन इन इन्डिया, मेड इन इन्डिया, ट्रस्टेड बाई द वल्र्ड ।’
भारत अब पूर्ण–स्ट्याक सेमिकन्डक्टर राष्ट्र बन्ने बाटोमा अघि बढ्दैछ । यसमा म्यान्युफ्याक्चरिङ, प्याकेजिङदेखि उच्च प्रविधियुक्त उपकरण उत्पादनसम्म समेटिनेछ।
सरकारले फाइल–टु–फ्याक्ट्री समय घटाउने, सिंगल विन्डो सिस्टम लागू गर्ने र प्लग–एन्ड–प्ले इन्फ्रास्ट्रक्चर मोडलमा सेमिकन्डक्टर पार्क निर्माण गर्ने योजनामा काम गरिरहेको छ ।
इलेक्ट्रोनिक्स तथा आईटी सचिव एस कृष्णनका अनुसार केन्द्र सरकारले परियोजनाको ५० प्रतिशत पूँजी सहयोग गर्नेछ भने राज्य सरकारहरूले करिब २० प्रतिशत प्रोत्साहन उपलब्ध गराउनेछन्।
हाल १० वटा परियोजना सञ्चालनमा रहेका छन् जसमा १८ अर्ब डलरभन्दा बढी लगानी भइसकेको छ । विश्व बजारमा यस क्षेत्रको हालको मूल्य ६०० अर्ब डलरको हाराहारीमा रहे पनि आगामी वर्षहरूमा यसले १ ट्रिलियन डलरभन्दा बढी पुग्ने सम्भावना देखिएको छ ।
विशेषज्ञहरूका अनुसार बढ्दो लगानी र प्रविधिक विकाससँगै यस क्षेत्रले निकट भविष्यमा थप रोजगारी र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मिडियाटेक इन्डियाले पछिल्ला ४–५ वर्षमा सेमिकन्डक्टर उद्योगलाई अभूतपूर्व सरकारी सहयोग प्राप्त भएको जनाएको छ ।