काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२ जारी गरेको छ । बीमकले पुनर्बीमा, रेट्रोसेसन, विदेशबाट आयात गर्ने परामर्श सेवाबापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जारी गरेको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशनअनुसार अब बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवाप्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सीधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासँग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिएबापतको रकम भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिएरमात्र गर्नुपर्ने छ ।
बीमकले यस निर्देशनको अतिरिक्त विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानुन र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेको निर्देशनको समेत पालना गर्नुपर्नेछ ।
सटही सिफारिस माग गर्दा प्रचलित कर, सेवा शुल्क, पुनर्बीमा कमिसन वा त्यस्तै कुनै छुटहरू पाउने भएमा सो समेत कट्टा गरी खुद रकमको भुक्तानीका लागि राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत विप्रेषण हुने गरी सिफारिस माग गर्नुपर्ने छ ।
प्राधिकरणले विदेशी मुद्रा सटही सिफारिस गर्दा डेबिट नोट वा बीजक जारी गर्ने सम्बन्धित पुनर्बीमक वा पुनर्बीमा दलाल वा विदेशी सेवाप्रदायक संस्थाको नाममा मात्र गर्नुपर्ने व्यवस्था गरेको छ ।
सटही सिफारिसको लागि प्राधिकरणमा पेश हुने निवेदनमा बीमकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को हस्ताक्षर गर्नुपर्ने छ । सटहीका लागि पेस हुने सबै संलग्न कागजातको प्रतिलिपिमा बीमक वा पुनर्बीमकको छापसहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।
बीमकले प्राधिकरणबाट सटही सिफारिस प्राप्त मितिले वाणिज्य बैंकको हकमा १५ दिन र नेपाल राष्ट्र बैंकको हकमा ३० दिनभित्र भुक्तानी गरी सो निस्सा तीन दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ ।
सिफारिस माग गर्दा भारतको हकमा भारतीय मुद्रामा तथा अन्य मुलुकको हकमा उक्त मुलुकको प्रचलित स्वदेशी मुद्रा वा परिवर्तनीय अमेरिकन डलरमा मात्रै भुक्तानीका लागि सिफारिस माग गर्नुपर्नेछ ।
विदेशी बीमक वा विदेशी ब्रोकरलाई बीमाको दाबीबाप्तको भुक्तानी गर्दा ट्रिट्री वा फ्याकल्टेटिभ हिसाबकिताब मिलान गरी अनुसूची ४ बमोजिमको कागजातहरू संलग्न गरी प्राधिकरणमा पेश गर्नुपर्ने हुन्छ ।
बीमकले पुनर्बीमा शुल्कबापत विदेशी मुद्रा सटही सिफारिस माग गर्दा बीमकले धारण गरेको जोखिमको हिस्साबाहेकको बाँकी जोखिम सतप्रतिशत हस्तान्तरण गरेको आवश्यक विवरण तथा स्व:घोषणासहितको सारांश पेस गर्नुपर्ने निर्देशनमार्फत व्यवस्था गरिएको छ ।
पुनर्बीमा वा रेट्रोसनबापत विदेशी मुद्रा सटही माग गर्दा प्राधिकरणले जारी गरेको बीमकको पुनर्बीमा निर्देशिकाबमोजिम सूचीकरण भएका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही निर्देशिका बमोजिमको रेटिङ प्राप्त पुनर्बीमकका लागि मात्र प्राधिकरण सिफारिस दिनेछ ।
तर, बीमकको पुनर्बीमा निर्देशिका लागू हुनुपूर्व गरिएको बीमा वा पुनर्बीमा सम्झौतासँग सम्बन्धित रकमको भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस माग गर्न वा प्रदान गर्न यस व्यवस्थाले बाधा नपुर्याउने निर्देशनमा व्यवस्था गरिएको छ ।
बीमकको लगानीसम्बन्धी निर्देशन संशोधन, के-के छन् नयाँ व्यवस्था ?