काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र लघुबीमा कम्पनीहरूको लागि एकीकृत लगानी निर्देशन ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बीमकको लगानीसम्बन्धी निर्देशिका संशोधन गर्दै प्राधिकरणले नयाँ निर्देशिका जारी गरेको हो ।
यसअघि फरक-फरक प्रकृतिको बीमा व्यवसायको इजाजतप्राप्त बीमकको लगानी बेग्लाबेग्लै निर्देशन प्रचलनमा रहेको थियो । नयाँ लगानी निर्देशन जारी भएसँगै पुराना चारवटै निर्देशन खारेज भएको छ ।
बीमकको लगानीसम्बन्धी संशोधित नयाँ व्यवस्थामा बीमकले बेग्लै लगानी इकाई स्थापना गर्नुपर्ने भनिएको छ । प्राधिकरणले बीमकले लगानी व्यवस्थापन गर्न लगानी सम्बन्धित कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक लगानी व्यवस्थापन इकाई स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थामा बीमकले गर्ने लगानीको खरिद मूल्य, खरिद प्रक्रिया, प्रचलित कानुन पालना गरिएको विषय र लगानीपश्चात हुने परिणामका सम्बन्धमा बीमकको सञ्चालक समिति, उच्च व्यवस्थापन, कार्यकारी प्रमुख र लगानी व्यवस्थापन इकाइको प्रमुख जिम्मेवार हुने व्यवस्था गरिएको छ ।
बीमा ऐन, २०७९ बमोजिम प्राधिकरणको स्वीकृति लिनुपर्नेमा बाहेक यस निर्देशनमा उल्लेखित लगानीको सीमा र शर्तको अधिनमा रही लगानी गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने भएको छ ।
प्राधिकरणले बीमा कम्पनीहरूलाई लगानीको सीमा र क्षेत्र तोकिदिएको छ । तोकिएको क्षेत्रभन्दा बाहेकको लगानी गर्न बन्देज छ ।
बीमा कम्पनीहरूलाई सरकारी सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू नहुने व्यवस्था गरेको छ ।
सहायक कम्पनीमा लगानी गर्न सकिने
बीमा कम्पनीहरूले प्राधिकरणको पूर्वस्वीकृति लिई विभिन्न पाँच क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था नयाँ निर्देशिकामा यथावत राखिएको छ ।
बीमा कम्पनीहरूले धितोपत्रसम्बन्धी कानुनबमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त पब्लिक कम्पनी, कृषि उत्पादन, भण्डारण तथा वितरण, भण्डार गृह तथा शीत भण्डार गृह, ऊर्जा उत्पादन, प्रसारण र वितरण, शिक्षा, स्वास्थ्य र लगानी कम्पनीमा लगानी गर्न सक्ने व्यवस्था छ ।
बीमकले कुल लगानीको ५ प्रतिशतमा नबढ्ने गरी प्राधिकरणको पूर्व स्वीकृति लिएर ती क्षेत्रहरूमा लगानी गर्न सक्नेछन् ।
सहायक कम्पनीमा लगानी गर्ने बीमकले प्राधिकरणले तोकिएको चुँक्ता पुँजी कायम गर्नुपर्ने छ । त्यस्तै प्राधिकरणले तोकिएको न्यूनतम जोखिममा आधारित पुँजी सोल्भेन्सी मार्जिन १३० प्रतिशत कायम हुनुपर्छ । यसबाहेक कम्पनी तीन वर्षदेखि लगातार नाफामा रहेको र बीमकको नेटवर्थ धनात्मक रहेको हुनुपर्छ ।
प्राधिकरणले बीमकको लगानीसम्बन्धी नयाँ निर्देशिकाको लगानीको सीमा हेरफेर गरेको छ भने केही क्षेत्रमा यथावत नै राखेको छ ।

