हाँसोभित्र लुकेको कुटनीति : पुटिन, मोदी र सी जिनपिङको तिआनजिन संवाद

शाङ्घाई सहयोग संगठन शिखर सम्मेलन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन (बायाँ) र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गर्दै । तस्बिर : गेट्टी इमेज

काठमाडौं । कहिलेकाहीँ एउटा तस्बिरले कुनै पनि विज्ञप्ति वा शिखरसम्मेलनको घोषणाभन्दा धेरै कुरा भन्नसक्छ।

चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन तिआनजिनमा एकसाथ हासिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सिधा हेर्दा यो तीन नेताबीचको सामान्य र सहज कुराकानीजस्तो देखिन्छ । तर विज्ञहरूको भनाइमा यसको भित्री अर्थ भने धेरै जटिल छ— यसले उनीहरूबीचको प्रतिस्पर्धा र विश्व राजनीतिभित्र बदलिँदै गएको शक्ति सन्तुलनलाई झल्काउँछ ।

भारतका पूर्वराजदूत गौतम बम्बावालेले सीएनबीसीसँग कुराकानी गर्दै भने, ‘ड्रागन र हात्ती अझै नाचिरहेका छैनन् । उनीहरू कोठाको विपरीत छेउमा बसेर एकअर्कालाई मात्र हेरिरहेका छन् र सम्बन्धका परिणाम के हुने हो भनेर अनुमान गर्न खोजिरहेका छन् । यो सम्बन्धलाई पुनः मार्गमा ल्याउन समय लाग्छ ।’

मुख्य अवरोध स्पष्ट छ । भारत–चीन सीमा विवाद २०२० को झडपपछि अझै समाधान भएको छैन । पाकिस्तानसँग चीनको साझेदारी आर्थिकमात्र नभई सैन्य उपकरण र जासुसी सहकार्यसम्म फैलिएको छ । जुन भारतसँगको सम्बन्धलाई गहिरो बनाउन बाधक बनेको छ ।

यसै सन्दर्भमा यसपटकको शाङ्घाई सहयोग संगठन (एससीओ) को आकार र महत्त्व बढ्दै छ, तर युरेसिया ग्रुपका जेरेमी चानले भने झैं ठूलो देखिनुले सधैं अर्थपूर्ण हुने चाहिँ होइन ।

चानले भने, ‘एससीओलाई सामान्यतया सुरक्षा संगठन भनिन्छ, तर यसले वास्तविक सैन्य मामिलामा ध्यान दिएको छैन । युक्रेन वा गाजाजस्ता पछिल्ला विश्वव्यापी संघर्षहरूमा पनि एससीओ प्रायः अनुपस्थित नै रह्यो ।’

बैठकको समय पनि महत्त्वपूर्ण थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार बढाउँदा र विश्वबजार अस्थिर बनाउँदा चीनले एससी‌ओलाई ग्लोबल साउथतर्फ आफ्नो पहुँचलाई देखाउने माध्यमका रूपमा प्रयोग गरिरहेको छ । चानका अनुसार ट्रम्पले शिखर सम्मेलनलाई ‘नयाँ जीवन’ दिएका छन्, जसले चीनलाई वाशिङ्टनभन्दा भरपर्दो कुटनीतिक भागीदारको रूपमा आफैलाई प्रस्तुत गर्ने अवसर दिएको छ ।

सोमबार ट्रम्पले ट्रूथ सोसलमा लेख्दै भारतले अमेरिकी सामानमा भन्सार शून्य पुर्याउने प्रस्ताव गरेको दाबी गरे । उनले भारतसँगको सम्बन्धलाई ‘एकतर्फी’ भन्दै अमेरिकालाई भारतको सबैभन्दा ठूलो ग्राहक भने ।

यसैबीच उक्त तस्बिरले अमेरिकी सञ्चारमाध्यममा पनि चासो पाएको छ । द न्यूयोर्क टाइम्सले यसलाई ‘हालै मस्कोले पुनर्जीवित गर्ने आशा व्यक्त गरेको त्रिकोणीय सम्बन्धको हाँसोमय झलक’ भनेर वर्णन गर्दै मोदी–पुटिनबीचको आत्मीयता विशेष गरी एकै गाडीमा यात्रासम्म पुगेको कुरा उल्लेख गर्यो ।

बहुध्रुवीयता, फरक परिभाषा

लगानीकर्ताहरूका लागि द स्टेक्स महत्त्वपूर्ण छ । एससीओमा विश्वको करिब आधा जनसंख्या प्रतिनिधित्व गर्ने अर्थतन्त्रहरू छन् जुन ऊर्जा र व्यापार प्रवाहका लागि केन्द्रमा छन् । भन्सारले आपूर्ति श्रृंखला धम्क्याउँदा र बजारले विभाजनका संकेत खोजिरहँदा यस्ता शिखरसम्मेलनलाई नयाँ गठबन्धनको संकेतका लागि नजिकबाट हेरिन्छ चाहे ठोस परिणाम सीमित किन नहोस् ।

भारतका लागि तस्बिरको महत्त्व छ । मोदी–सी वार्तालाई अमेरिकालाई दिएको सन्देशको रूपमा व्याख्या गरिएको छ, जसले भारतले वाशिङ्टनसँग सम्बन्ध गहिराउँदै चीन र रसियासँग संवाद खुला राख्ने संकेत गरेको देखिन्छ । तर एससीओको सैन्य परेड बहिष्कार गरेर भारतले सम्बन्ध सुधारको सीमा पनि देखाएको छ ।

चानका अनुसार भारतले यस अवसरलाई वाशिङ्टनलाई अप्रत्यक्ष सन्देश दिन प्रयोग गरिरहेको छ कि त्यससँग बेइजिङ मात्र होइन, मस्कोसँग पनि रणनीतिक विकल्प छन् । टोकियोबाट सीधा आएका मोदीले बैठक सकेलगत्तै फर्किएको कुरा पनि अमेरिकासँग एशियामा भारतको निरन्तर साझेदारीलाई देखाउँछ ।

शिखर सम्मेलनको केन्द्रमा ‘बहुध्रुवीयता’  विषयमा बहस थियो । चान भन्छन्, ‘भारत र चीनले बहुध्रुवीयतालाई फरक–फरक ढंगले बुझ्छन् ।’

उनका अनुसार बेइजिङको दृष्टिमा यो अमेरिकी प्रभुत्व घटाएर चीनलाई एशियाको प्रमुख शक्ति बन्ने अवसर दिने प्रणाली हो । तर भारतका लागि बहुध्रुवीयता भनेको प्रभाव धेरै मुलुकमा समान रूपमा बाँडिनु हो ।

यसैबीच रसियाका लागि एससीओ त्यस्ता थोरै अन्तर्राष्ट्रिय मञ्चमध्ये एक हो जहाँ पुटिन बचाउको भूमिकामा छैनन् । यसले पश्चिमी प्रतिबन्धका बाबजुद एशियाली साझेदारहरूसँगको मस्कोको गहिरो सम्बन्धलाई देखाउँछ।

एउटै तस्बिरले यी सबै कुरा समेट्छ । हाँसोले मेलमिलाप देखाए पनि वास्तविकता भने धेरै जटिल छ ।

‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान

भारतको त्रिदेशीय सन्तुलन : शुल्क, तेल र असजिलो हस्तमिलन
 

Share News