सुडानमा पहिरो जाँदा कम्तीमा १ हजारको मृत्यु

काठमाडौं । सुडानको विद्रोही संगठन सुडान लिबरेशन मूभमेन्ट/आर्मीले देशको पश्चिमी क्षेत्रमा पहिरो जाँदा  कम्तीमा १ हजार जनाको मृत्यु भएको जनाएको छ ।

यो घटना पश्चिमी सुडानको मर्रा पर्वतमा पर्ने दुर्गम क्षेत्रमा भएको हो ।

संगठनका अनुसार लगातार केही दिनसम्म परेको भारी वर्षापछि ३१ अगस्टमा पहिरो  गएको हो । यसमा तारासिन गाउँको ठूलो हिस्सा पुरिएको थियो र केवल एक जना मात्र जीवित बच्न सफल भए ।

संगठनले संयुक्त राष्ट्रसंघ, अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ ।

जहाँ पहिरो गएको छ, त्यो क्षेत्र हाल सूडान लिबरेशन मूभमेन्ट/आर्मीको नियन्त्रणमा छ । यस संगठनले सुडानी सेनासँग मिलेर अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) विरुद्ध लडाइँ लडिरहेको छ ।

यस संघर्षका कारण उत्तर दारफुर राज्यका धेरै बासिन्दाले मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए ।

सन् २०२३ अप्रिलमा सुडानी सेना र आरएसएफबीच सुरु भएको गृहयुद्धले देशलाई भोकमरीको संघारमा पुर्याएको छ भने पश्चिमी दारफुर क्षेत्रमा जातीय नरसंहार भएको आरोप लागिरहेको छ ।

गृहयुद्धमा मारिनेहरूको सङ्ख्या फरक–फरक बताइँदै आएको छ, तर एक अमेरिकी अधिकारीका अनुसार गत वर्ष अनुमान गरिएको थियो कि २०२३ देखि अहिलेसम्म करिब १.५ लाख मानिस मारिएका छन् । त्यस्तै, झण्डै १ करोड २० लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

Share News