ट्रम्पको धम्कीका बाबजुद पनि भारतमा एप्पलको विस्तार जारी रहने, २.५ अर्ब डलर लगानी गर्दै

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले भारत सरकारलाई जानकारी दिँदै भारतमा आफ्नो विस्तार योजनालाई सुस्त पार्ने कुनै उद्देश्य नराखेको स्पष्ट पारेको छ। 

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार कम्पनीले वार्षिक ४० मिलियन युनिट आईफोन उत्पादन क्षमता बढाएर करिब ६० मिलियन युनिट पुर्याउने लक्ष्यसहित करिब २.५ अर्ब अमेरिकी डलर लगानी गर्दैछ । यो अतिरिक्त उत्पादनको ठूलो हिस्सा निर्यात, विशेषगरी अमेरिकाका लागि हुनेछ ।

एप्पलले भारतमै छिट्टै बजारमा आउने आईफोन १७ एसेम्बल गर्न सुरु गरिसकेको छ । स्रोतहरूका अनुसार कम्पनीले भारत सरकारलाई देशभित्र आफ्ना विस्तार योजना र लगानी सुस्त नपार्ने पक्का आश्वासन दिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने आईफोन निर्यातको खुलेआम विरोध गरे पनि यो विस्तार योजना रोकिएको छैन ।

हालका लागि, स्मार्टफोन र कम्प्युटरहरू नयाँ अमेरिकी ट्यारिफबाट प्रभावित छैनन् । तर ट्रम्पले आफ्नो विरोध स्पष्ट रूपमा जनाइसकेका थिए ।

Share News