काठमाडौं । अमेरिकी सरकारले भारतमाथि लगाइने थप २५ प्रतिशत ट्यारिफ लागू गर्ने सम्बन्धमा आधिकारिक नोटिस जारी गरेको छ ।
यो ट्यारिफ बुधबार अर्थात् अगस्ट २७ देखि लागू भएको छ ।
यसअघि ट्यारिफ दर २५ प्रतिशत थियो । यससँगै अब भारतमाथि कुल ५० प्रतिशत ट्यारिफ लाग्ने भएको छ ।
नोटिसमा उल्लेख भएअनुसार अगस्ट २७ वा त्यसपछि प्रयोगका लागि आउने वा गोदामबाट निकालिने कुनै पनि भारतीय सामानमा ५० प्रतिशत ट्यारिफको दायरामा पर्नेछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत ट्यारिफ लगाउनुको कारण भारतले रूसबाट कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा रूसलाई सहयोग गरेको बताएका थिए।
तर भारतले ट्रम्पको यस निर्णयलाई ‘अनुचित, अकारण र तर्कहीन’ भनेको थियो ।
अमेरिकी ट्यारिफको क्रम :
अप्रिल २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २६ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए, तर पछि यो निर्णयलाई ९० दिनका लागि स्थगित गरियो ।
जुलाईमा राष्ट्रपति ट्रम्पले घोषणा गरेअनुसार अगस्ट १ बाट भारतीय वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लागू भयो ।
अगस्टमा २५ प्रतिशत ट्यारिफपछि ट्रम्पले थप २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे र ट्यारिफ दर ५० प्रतिशतमा पुगेको छ ।
अब अगस्ट २७ बाट भारतीय सामानहरूमा ५० प्रतिशत ट्यारिफ लागु हुनेछ ।