एक वर्षमा २० प्रतिशतले बढ्यो अडानी समूहको ऋण

काठमाडौं । अडानी समूहको भारतीय बैंकहरूमा निर्भरता बढ्दै गइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका दोस्रो ठूला धनी गौतम अडानीको नेतृत्वमा रहेको यस समूहले अहिले भारतीय बैंक र वित्तीय संस्थाहरूबाट पहिलेभन्दा धेरै ऋण लिएको छ । 

समूहको करिब आधा ऋण (२.६ लाख करोड भारु) घरेलु बैंक र वित्तीय संस्थाबाट लिएको छ । एक वर्षअघि यो आँकडा ४० प्रतिशत थियो । भारतीय रिजर्ब बैंक (आरबीआई)ले नीतिगत ब्याजदर घटाएपछि भारतमा ऋण लिन सजिलो भएको छ । साथै क्रेडिट रेटिङ राम्रो भएकाले पनि ऋण पाउन सहज भएको छ । पछिल्ला १२ महिनामा जुन २०२५ सम्म अडानी समूहको कुल ऋण २० प्रतिशतले बढेको छ ।

जुन २०२५ को अन्त्यसम्म अडानी समूहको भारतीय रुपैयाँमा लिएको ऋण ५० प्रतिशत पुगेको छ, जुन डलरमा लिएको ऋणसँग बराबरीमा आएको हो । सरकारी बैंकहरूको अडानी समूहमा एक्सपोजर बढेर १८ प्रतिशत पुगेको छ, जुन गत वर्ष १३ प्रतिशतमात्र थियो । 

त्यस्तै, एनबीएफसी र वित्तीय संस्थाहरूको एक्सपोजर पनि बढेर २५ प्रतिशत पुगेको छ, जुन एक वर्षअघि १९ प्रतिशत थियो । डलर बन्ड जुन पहिले ३१ प्रतिशत थियो, घटेर २३ प्रतिशतमा झरेको छ । विदेशी बैंकहरूबाट डलरमा लिएको ऋण पनि २८ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ । निजी बैंकहरूले भने आफ्नो हिस्सा २ प्रतिशतमा यथावत् राखेका छन् ।

क्यास रिजर्भ

केवल दुई वर्षमै अडानी समूहमा भारतीय बैंकहरूको एक्सपोजर १५ अर्ब डलर (झण्डै १.३ लाख करोड भारु) बढेको छ । यसले देखाउँछ कि यी बैंकहरूले अडानी समूहलाई ऋण दिन कति ठूलो भूमिका खेलेका छन् । अडानी समूहले लगानीकर्ताहरूलाई जानकारी दिएको छ कि उसले बन्दरगाह र ऊर्जा जस्ता क्षेत्रमा दीर्घकालीन सम्झौता गरेर आम्दानी स्थिर राखेको छ । साथै ऋणलाई उद्योगको औसतभन्दा कम राखिएको छ । समूहसँग ६० हजार करोड भारुको नगद (क्यास रिजर्भ) पनि छ, जुन उसको कुल ऋणको चौथाई हो ।

अडानी एयरपोर्टले बारक्लेस, डीबीएस, फस्र्ट अबु धबी बैंक र एमयूएफजीबाट १५० मिलियन डलरको सिन्डिकेटेड लोन लिएको छ । त्यस्तै, अडानी पोट्र्सले एमयूएफजी बाट १२५ मिलियन डलरको ऋण लिएको छ । एयरपोर्ट युनिटले घरेलु बैंकहरूबाट लिएको ऋणलाई पनि रिफाइनान्स गरिएको छ । 

यस अवधिमा समूहको नाफा ४० हजार ५६५ करोड भारु रह्यो र पूँजीगत खर्च बढेर १.२६ लाख करोड भारु पुग्यो । लिक्विडिटी र नेट डेट–टु–एबिटा अनुपात २.६ कायम रहँदा ऋण नियन्त्रणमा रह्यो । समूहको ९० प्रतिशतभन्दा बढी आम्दानी एए–रेटिङ वा सोभन्दा उत्कृष्ट सम्पत्तिबाट आएको छ । यस कारण समूहलाई कम ब्याजदरमा ऋण प्राप्त भइरहेको छ र घरेलु तथा विदेशी दुवै पूँजीमा सजिलो पहुँच बनिरहेको छ ।

Share News