कमजोर बिक्रीको बाबजुत पनि टेस्लाले साइबरट्रक झन् महँगो बनायो

काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो सबैभन्दा महँगो साइबरट्रक पिकअप ट्रक मोडेलको मूल्य १५ हजार डलरले बढाएको छ । टेस्लाले बिक्री अपेक्षाअनुसार नभएको अवस्थामा पनि मूल्य बढाएको हो ।

पिकअपले टेस्लाले गरेको प्रारम्भिक वाचा पुरा गर्न संघर्ष गरेको छ र हालसम्म बिक्री अपेक्षाभन्दा निकै कम देखिएको छ ।

अब १ लाख १४ हजार ९९० डलर पर्ने 'साइबरबिस्ट' भेरियन्ट नयाँ 'लक्ज प्याकेज' सहित आउनेछ जसमा सुपरभाइज फूल सेल्फ ड्राइभिङ र सुपरचार्जर नेटवर्कमा निःशुल्क पहुँच समावेश छ । अन्य साइबरट्रक मोडेलहरूको मूल्य भने परिवर्तन भएको छैन ।

यस मोडेलको मूल्य २०१९ मा सीईओ एलन मस्कले प्रस्तुत गरेको करिब ४० हजार डलरको प्रारम्भिक मूल्यभन्दा निकै माथि पुगेको छ । तर सन् २०२३ को अन्त्यमा सार्वजनिक हुँदा टेस्लाले आधारभूत मोडेलको मूल्य ६० हजार ९९० डलर तोकेको थियो, जुन अघिल्लो लक्ष्यभन्दा ५० प्रतिशत बढी हो ।

फोर्डको एफ- १५० लाइटनिङ र शेभ्रोलेट सिल्भेराडो ईभी साइबरट्रकका प्रतिस्पर्धी मोडेलहरू हुन् । टेस्लाले स्टकमा रहेका केही साइबरट्रक युनिटमा करिब १० हजार डलरसम्म छुट पनि दिइरहेको छ ।

मस्कले पहिले टेस्लाले वार्षिक १ लाख २५ हजारभन्दा बढी साइबरट्रक उत्पादन गर्ने क्षमता भएको बताएका थिए र सन् २०२५ मा करिब २ लाख ५० हजारसम्म पुर्याउने सम्भावना रहेको बताएका थिए । तर उनले उत्पादन विस्तार चुनौतीपूर्ण हुने चेतावनी पनि दिएका थिए ।

तर, यो पिकअपले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । कम्पनीको कुल डेलिभरीको सानो अंश मात्रै यसले ओगटेको छ र बारम्बार हुने रिकल तथा गुणस्तरसम्बन्धी समस्याका कारण माग कमजोर हुँदै गएको छ ।

हाल टेस्लाले साइबरट्रक डेलिभरीको आँकडा सार्वजनिक नगरे पनि मार्चमा गरिएको रिकलमा ४६ हजार सवारीसाधन समावेश भएको तथ्यले देखाउँछ कि सन् २०२३ नोभेम्बरमा डेलिभरी सुरु भएसँगै २०२५ फेब्रुअरी २७ सम्म बनेका ट्रकहरूको कूल बिक्री वार्षिक उत्पादन क्षमताभन्दा निकै तल छ ।

Share News