काठमाडौं । उदीयमान अर्थतन्त्र पर्यटन, विदेशी लगानी र आप्रवासनको कारण स्पेन युरोपेली छिमेकीहरूलाई पछि पार्दै गइरहेको छ ।
दक्षिण युरोपेली देश यस वर्ष २.५ प्रतिशत जीडीपी वृद्धिको अनुमानसहित युरोजोनमा अग्रणी रहिरहेको छ । यसै अवधिमा फ्रान्सको अर्थतन्त्र ०.६ प्रतिशत, जर्मनीको ० प्रतिशत र इटलीको ०.७ प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ ।
स्पेनको जीडीपी दोस्रो त्रैमासिकमा ०.७ प्रतिशतले बढ्यो, जुन रोयटर्सको ०.६ प्रतिशतको अनुमानभन्दा माथि थियो । यो वृद्धिदर अघिल्लो तीन महिनाको ०.६ प्रतिशतभन्दा पनि उच्च भएको स्पेनको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) ले जनाएको छ ।
‘लगातार दोस्रो वर्ष हामी जीडीपी वृद्धिदरका हिसाबले विश्वकै अग्रणी विकसित अर्थतन्त्र हुनेछौं,’ स्पेनका अर्थमन्त्री कार्लोस कूएर्पोले अप्रिलमा सीएनबीसीलाई भनेका थिए ।
‘स्पेन अहिले वृद्धिका हिसाबले एकदमै विशेष छ । लगानीका लागि पनि यो उत्तम स्थान हो,’ उनले थपे ।
स्पेनको अर्थतन्त्रको सफलतामा उच्च खपत र लगानीसँगै पर्यटन, ‘नेक्स्ट जेनेरेसन युरोपियन फन्ड्स’ र आप्रवासन प्रमुख आधार बनेका छन् ।
कूएर्पोका अनुसार, ‘यो केवल पर्यटन मात्र होइन, गैरपर्यटन सेवा क्षेत्र पनि हो । आईटी, लेखा परीक्षण, वित्तीय सेवाजस्ता क्षेत्रमा सेवाको निर्यात पर्यटनभन्दा बढी छ - पर्यटनमा ९४.९५ अर्ब युरोको तुलनामा सेवामा १०० अर्ब युरो । यो स्पेनिश अर्थतन्त्रको आधुनिकीकरणको एउटा संकेत हो ।’
तर यति प्रगति हुँदाहुँदै पनि स्पेनलाई जीवनयापन खर्चसँग मेल खाने तलब, जलवायु परिवर्तन, विभाजित राजनीतिक वातावरण र ईयूभित्रकै सबैभन्दा उच्च युवा बेरोजगारी जस्ता चुनौतीहरू छन् ।
बीबीभीए रिसर्चका प्रमुख अर्थशास्त्री मिगेल कार्डोसोका अनुसार अर्को चुनौती भनेको विशेषगरी सामानको निर्यात हो जुन गत १५ वर्षमा उल्लेखनीय रूपमा बढेको छ । त्यसबाहेक उच्च बचत दर, न्यून लगानी दर, सरकारी घाटा र सार्वजनिक ऋण घटाउने चुनौतीहरू पनि छन् ।
आप्रवासन र पर्यटनको उछाल
पर्यटन अझै पनि स्पेनको जीडीपीको करिब १२ प्रतिशत हिस्सा ओगट्छ । महामारीपछिको पुनरुत्थान र अरू पश्चिम युरोपेली मुलुकहरूको तुलनामा सस्तो मूल्यका कारण यो क्षेत्रमा उन्नति भएको हो ।
तर यसले स्थानीय समुदायहरूलाई असन्तुष्ट बनाएको छ । बार्सिलोना लगायतका सहरमा गत वर्ष जूनमा प्रदर्शनकारीहरूले यात्रुहरूलाई पानीको पिस्तोलले छेप्दै ‘पर्यटक घर फर्क’ भन्दै नारा लगाएका थिए ।
यस क्षेत्रको श्रमशक्ति पनि बढिरहेको छ– २०२४ सम्म करिब ३० लाख रहेका छन् । जुन २०२३ को भन्दा ९.७ प्रतिशतले बढी हो ।
रोजगार सिर्जनामा आप्रवासनले पनि ठूलो योगदान दिएको छ । अन्य युरोपेली मुलुकहरूले सीमा बन्द गरिरहँदा स्पेनले आगामी तीन वर्षमा करिब दस लाख आप्रवासीलाई स्वागत गर्ने योजना बनाएको छ, जसमा वर्कभिसा र कागजातविहीन श्रमिकलाई बसोबास अनुमति दिने व्यवस्था छ ।
‘२०२१ देखि श्रमशक्तिमा आएको ९० प्रतिशत वृद्धिको कारण आप्रवासन हो,’ कार्डोसोले भने ।
यसले सेवा क्षेत्र विस्तार गर्न मद्दत गरेको छ, श्रम लागतलाई नियन्त्रणमा राख्दै प्रतिस्पर्धी बनाउन सहयोग गरेको छ र उच्च मुद्रास्फीति बीच सेवाको मूल्यलाई पनि केही हदसम्म स्थिर राख्न सक्षम बनाएको छ ।
गत वर्ष स्पेनमा आएका आप्रवासीमध्ये धेरैजसो कोलम्बिया, भेनेजुएला र मोरक्कोबाट आएका थिए ।
ईयूको सहायता र लगानी
स्पेनलाई ईयूको ‘नेक्स्ट जेनेरेसन ईयू फन्ड्स’ बाट अनुदान र ऋणमार्फत १६३ अर्ब युरो उपलब्ध भएको छ । यो रकमका हिसाबले स्पेन इटलीपछि दोस्रो ठूलो लाभार्थी बनेको हो ।
कूएर्पोका अनुसार अनुदानको ७० प्रतिशत अर्थात् ५५ अर्ब युरो पहिले नै वितरण भइसकेको छ ।
सरकारले यी रकमलाई नवीकरणीय ऊर्जा र गैर–पर्यटन सेवाको निर्यातमा लगानी गर्ने लक्ष्य राखेको छ ।
सस्तो ऊर्जा र विदेशी लगानी
२००० को दशकदेखि हरित ऊर्जामा लगानी गर्दा स्पेनले युरोपेली ऊर्जा संकटको कम असर भोगेको छ ।
‘पछिल्लो पाँच–छ वर्षमा नवीकरणीय ऊर्जाको हिस्सा बढ्दा थोक बिजुली मूल्य ४० प्रतिशतले घटेको छ,’ कूएर्पोले भने ।
सस्तो उत्पादन खर्चले विदेशी लगानीकर्तालाई आकर्षित गरेको छ । चीनमा स्थापना भएको सौर्य प्रविधि कम्पनी आर्कटेकले २०२४ मा मड्रिडमा आफ्नो युरोप मुख्यालय स्थापना गरेको छ ।
यस्तै, अटो कम्पनी स्टेलान्टिसले २०२४ मा ४.३ अर्ब डलरको ब्याट्री कारखाना जारागोजामा बनाउन घोषणा गर्यो।
स्पेन युरोपेली संघभित्र लगानीकर्ताको लागि चौथो आकर्षक गन्तव्य बनेको छ । चीनले मात्र २०२५ सम्ममा ११ अर्ब युरो लगानी गर्ने र ३३ नयाँ परियोजना अघि बढाउने घोषणा गरिसकेको छ ।
‘सबैभन्दा ठूलो लगानीकर्ता त अमेरिकै हो,’ कूएर्पोले भने, ‘तर हामीले चीनसहित अन्य देशबाट पनि नवीकरणीय ऊर्जा, दिगो यातायात र आर्थिक सुरक्षासँग सम्बन्धित क्षेत्रमा लगानी आकर्षित गरेका छौं ।’