काठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघेलाई सरकारी रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ । यो जानकारी त्यहाँको प्रहरीले दिएको हो ।
उनीमाथि लागेको आरोप राष्ट्रपति पदमा रहँदा भएको विदेश यात्रासँग सम्बन्धित छ ।
आरोपअनुसार सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको आमसभाबाट फर्कँदा उनले आफ्ना निजी कामका लागि श्रीमतीसहित लन्डनमा रोकिँदा सरकारी खर्च प्रयोग गरेका थिए ।
उनलाई शुक्रबार राजधानी कोलम्बोको जिल्ला अदालतमा पेश गरिनेछ । यसअघि उनले अपराध अनुसन्धान विभाग (सीआईडी) मा बयान दिएका छन् ।
रानिल विक्रमसिंघेले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै लन्डनमा उनले विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन् ।
विक्रमसिंघे २०२२ देखि २०२४ सम्म श्रीलङ्काका राष्ट्रपति रहेका थिए ।
उनी आर्थिक संकटका कारण देशभर प्रदर्शन चर्किँदा पदभार सम्हालेका थिए, जब उनका पूर्ववर्ती गोटाबाया राजपक्षे देश छोडी भागेका थिए ।