काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा ६६ अर्बभन्दा बढीको लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले गत आवको चौथो त्रैमाससम्ममा विभिन्न क्षेत्रमा ६६ अर्ब २३ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् ।
गत आवमा बीमा कम्पनीहरूले गरेको लगानी गत आवको तुलनामा ०.४३ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीहरूले ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका थिए ।
बीमा कम्पनीहरूको लगानी सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा रहेको छ । निर्जीवन बीमा कम्पनीहरूको कुल लगानीमा ७७.४८ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा देखिन्छ । कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै ५१ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् ।
कम्पनीहरूले ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ४४ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, ‘ख’ वर्गको बैंकको निक्षेपमा ५ अर्ब २३ करोड ७१ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब १३ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् ।
समीक्षा वर्षमा निर्जीवन बीमकले सरकारी बचतपत्र तथा ऋणपत्रमा ६० करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको सेयरमा ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरूको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ८९ करोड ९० लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् ।
कम्पनीहरूले नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ७ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २९ करोड ४३ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा २ अर्ब ६० करोड ८८ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा १ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन् ।
समीक्षा वर्षमा कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत विकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् । यसबाहेक बीमा कम्पनीहरूको अन्य क्षेत्रमा ९२ करोड २२ लाख रुपैयाँ लगानी रहेको छ ।
सबैभन्दा धेरै लगानी सिद्धार्थ प्रिमियरको
बीमा कम्पनीहरूमध्ये विभिन्न क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्ष विभिन्न क्षेत्रमा ७ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ ।
धेरै लगानी गर्ने दोस्रो कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको विभिन्न क्षेत्रमा ७ अर्ब ७७ करोड १० लाख रुपैयाँ लगानी रहेको छ । तेस्रो धेरै लगानी रहेको कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले विभिन्न क्षेत्रमा ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, गत वर्ष विभिन्न क्षेत्रमा नेको इन्स्योरेन्सले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब १५ करोड ६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४ अर्ब ८९ करोड ८ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २४ करोड ११ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ लगानी गरेका छन् ।