राउन्ड टेबल नेपालसँगको सहकार्यमा नेपाल लाइफले गर्यो सगरमाथामा थुप्रिएको ५ हजार केजी फोहोर सङ्कलन


 काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियानअन्तर्गत सगरमाथामा थुप्रिएका ५ हजार किलोग्राम फोहोर सङ्कलन गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर सङ्कलनसम्बन्धी प्रतिवेदन यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीलाई हस्तान्तरण गरे । 

सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारी, प्रोजेक्ट केयरको प्राविधिक साझेदारको रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि, फोहोर व्यवस्थापन, रिसाइकलिङ र वातावरणीय संरक्षणमा योगदान पुर्याउँदै आएको संस्था खाली सीसीका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको सीईओ पराजुलीले बताए । 

उनले पहिलो चरणमा ५ हजार किलोग्राम फोहर सङ्कलन गर्न सफल भएकोमा यससँग आबद्ध सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरे । 

उनले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । 
राउन्ड टेबल नेपालका अध्यक्ष श्री प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको कुरा बताए । 

कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुरिएको र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइएको थियो ।

फालिएका टेन्ट, अक्सिजन सिलिन्डर, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो ‘विश्वकै सबैभन्दा अग्लो फोहोर थलो’ नबनोस् भन्ने अभिप्रायका साथ नेपाल लाइफ इन्स्योरेन्सले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियानलाई सहयोग गरेको हो । 

Share News