टेस्लाको मोडल वाई एल चीनमा सार्वजनिक, अमेरिकामा भने उत्पादन नहुने संकेत

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीले यसै हप्तादेखि चीनमा बजारमा ल्याएको नयाँ छ-सीटको मोडल वाई भेरियन्ट सायद अमेरिकामा कहिल्यै उत्पादन नहुने बताएका छन् ।

उनले स्वचालित (सेल्फ-ड्राइभिङ) सवारीसाधनको बढ्दो प्रभावका कारण उत्पादन नहुने बताएका हुन् ।

शाङ्घाई कारखानामा बनेको मोडल वाई एलमा लामो ह्वीलबेस र तीन पंक्तिको सिट रहेको छ । यसको मूल्य करिब ४७ हजार २०० अमेरिकी डलर तोकिएको छ । यो मंगलबारदेखि चीनमा बिक्रीमा आएको हो, जहाँ टेस्लाले बाईडी र साओमीजस्ता स्थानीय ईभी निर्माताहरूको तीव्र प्रतिस्पर्धा सामना गरिरहेको छ ।

‘यो भेरियन्ट अमेरिकामा अर्को वर्षको अन्त्यसम्म उत्पादन सुरु हुँदैन,’ मस्कले सामाजिक सञ्जाल एक्स एक्समा प्रयोगकर्ताको पोस्टको जवाफ दिँदै भनेका छन्। ‘सायद कहिल्यै नहोला किनभने अमेरिकामा सेल्फ-ड्राइभिङ युग सुरु भइसकेको छ ।’

मस्कले स्वचालित सवारीसाधनको बढ्दो प्रभावले किन छ सीटरको आवश्यकता घटाउँछ भन्नेबारे भने खुलाएका छैनन् ।

तीन पंक्तिसहितका पेट्रोलबाट चल्ने एसयूभीहरू अमेरिकन परिवारहरूमा लामो समयदेखि लोकप्रिय छन् । तर, लाभ कमाउने गरी तीन पंक्तिको इलेक्ट्रिक गाडी बनाउनु अझै पनि गाह्रो मानिन्छ । यसैबीच ट्रम्प प्रशासनका हालैका नीतिगत परिवर्तनहरूले इलेक्ट्रिक गाडीलाई अझै महँगो बनाउने देखिएको छ, जसका कारण अटो कम्पनीहरू साना र सस्ता भेरियन्टतर्फ बढी ध्यान केन्द्रित गरिरहेका छन् ।

टेस्ला यसै वर्षपछि सस्तो मोडल वाई ल्याउने तयारीमा पनि छ जसमा कम प्रिमियम सुविधाहरू हुने अपेक्षा गरिएको छ । मस्कले यसलाई 'साधारण मोडल वाई' भनेर वर्णन गरेका छन् ।

अमेरिकामा टेस्लाले आफ्नो ध्यान बिस्तारै रोबोट्याक्सी महत्त्वाकांक्षातर्फ केन्द्रित गरिरहेको छ । कम्पनीले जून महिनामा अष्टिनमा सीमित रोबोट्याक्सी सेवा सुरु गरिसकेको छ र यसै वर्षको अन्त्यसम्म अमेरिकी जनसंख्याको आधाभन्दा बढी क्षेत्रमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

मस्कले गत वर्ष लगानीकर्ताहरूसँगको छलफलमा भविष्य स्वचालित बन्ने भएकाले पारम्परिक गाडी बनाउन ‘निरर्थक’ हुने बताएका थिए । आगामी वर्ष टेस्लाले साइबरक्याब नामक दुई सिटे, स्टेयरिङ र पेडल नभएको विशेष रोबोट्याक्सी मोडेलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ ।

बीवाईडी र साओमीसँगको भिडन्तमा टेस्लाको नयाँ हतियार ‘मोडेल वाई एल’
 

Share News