काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो- २०२५ मा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना नयाँ तथा पुराना मोडलहरूले अवलोकनकर्ताको ध्यान खिचिरहेको छ । टाटाको स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । जहाँ थेग्न नसकिने भीड लागेको छ ।
टाटाले नाडा अटो शोको अवसर पारेर ‘अल न्यु टाटा सफारी’ डिजेल इन्जिन र टियागो ईभीमा ‘एरिजोना ब्लू’ नामक नयाँ रङ प्रदर्शनमा राखेको छ ।
नाडा अटो शोमा गत साउनमा भएको नाइमा मोबिलिटी एक्स्पोमा जस्तो छुट नभए पनि बिक्रेताहरूले विभिन्न आकर्षक अफर भने ल्याएका छन् । अटो शोमा बिक्रेताले आफ्नो गाडीको बिक्री बढाउँछन् भने क्रेताले आकर्षक मूल्यमा गाडी किन्न पाउँछन् । नाइमामा एउटै गाडीमा २० लाख रुपैयाँसम्म छुट दिइएको थियो।

सिप्रदी ट्रेडिङका सेल्स निरज डाँगीले भर्खरै सार्वजनिक गरिएको ‘अल न्यु टाटा सफारी’ कर्पोरेट र ठूला व्यवसायीहरूलाई लक्षित गरी बनाइएको बताए ।
उनका अनुसार यो सेभेन-सिटर गाडी हो ।
यो नेपाली बजारमा पहिलेदेखि नै रुचाइएको सफारीको नयाँ र परिष्कृत भर्सन हो । यसका साथै टियागो ईभीमा थपिएको नयाँ ‘एरिजोना ब्लू’ रङले ग्राहकलाई थप विकल्प दिएकोे छ ।
नाडा अटो शोमा टाटाले आफ्ना लोकप्रिय ईभी मोडलहरूलाई प्राथमिकताका साथ प्रदर्शनमा राखेको छ । स्टलमा पन्च ईभी, नेक्सन केथ्री र कुपे डिजाइनको प्रिमियम गाडी कर्भ ईभी आकर्षणको केन्द्र बनेका छन् ।
कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाटको मोटर जडित यो गाडीले एक पटकको फुल चार्जमा ३७५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । हालै मात्र यो गाडीले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको सफल यात्रा गरेको थियो । यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, नेक्सन केथ्रीमा ४५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाटको मोटर रहेको यो गाडीले ३२५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । यसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाटको मोटर रहेको पन्च ईभीले २७० किलोमिटरको माइलेज दिन्छ । यसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टिआगो ईभीको मूल्य २९ लाख ९९ हजार रुपैयाँबाट सुरु रहेको छ ।
नाडालाई लक्षित गर्दै सिप्रदीले ईभी गाडी खरिदमा विशेष अफर ल्याएको छ । नगद छुटका साथै ग्राहकले अटो प्लस इन्स्योरेन्स र विभिन्न एक्सेसरीज सुविधाहरू पाउनेछन् भने ३ वर्षसम्मको लागि ‘कन्जुमेबल’ पार्टसहित निःशुल्क सर्भिसको सुविधा दिएको छ ।
८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी अवधिभित्र देशभरका डीसी चार्जिङ स्टेसनमा पूर्ण रूपमा निःशुल्क चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी अफरहरू टियागो ईभी, पन्च ईभी, नेक्सन केथ्री, र कर्भ ईभीमा लागू हुनेछन् ।
नेपालमा टाटा ईभी लोकप्रिय हुनुको पछाडि सिप्रदीको ४० वर्षभन्दा लामो विरासत र बलियो सर्भिस नेटवर्क रहेको डाँगी बताउँछन् । देशभर १८५ भन्दा बढी चार्जिङ नेटवर्क, १६ भन्दा बढी ईभी डेडिकेटेड सर्भिस सेन्टर र नैकापस्थित ब्याट्री डाइग्नोसिस तथा रिपेयर सेन्टरले ग्राहकलाई बिक्रीपछिको सेवामा ढुक्क बनाएको छ ।
नाडा अटो शो आइतबारसम्म चल्नेछ ।