नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुर्व्यवहारको आरोप

काठमाडौं । नर्वेकी राजकुमारीको छोरा मारियस बोर्ग होइबीविरुद्ध बलात्कारका चारवटा मुद्दासहित जम्मा ३२ आपराधिक घटनामा मुद्दा दर्ता गरिएको अभियोजन पक्षले जनाएको छ ।

२८ वर्षीय होइबीमाथि आफ्नी एक पूर्वसाथीलाई दुर्व्यवहार गरेको र अर्को पूर्वसाथीसँग सम्बन्धित विभिन्न कानुन उल्लंघन गरेको आरोपसमेत लगाइएको छ ।

मारियस बोर्ग होइबीको जन्म क्राउन प्रिन्सेस मेटे-म्यारिटको विवाहपूर्वको सम्बन्धबाट भएको हो । त्यसपछि राजकुमारीले प्रिन्स हाकोनसँग विवाह गरेकी थिइन् ।

होइबीले भने आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् ।

उनका वकिल पेटर सेकुलिकले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै आफ्ना मुवक्किललाई न्यूनतम सजाय दिलाउने प्रयास गर्ने बताएका छन् ।

यदि गम्भीर आरोप प्रमाणित भएमा होइबीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ ।

Share News