काठमाडौं । लगभग एक शताब्दीअघि नेपालमा पहिलो मोटर गाडीलाई मानिसहरूले काँधमा बोकेर भीमफेदीको उकालो चढाउँदै काठमाडौं भित्र्याएका थिए । त्यो एउटा युगको सुरुवात थियो । बिहीबार काठमाडौंको पाँचतारे होटल सोल्टीमा सयौं गाडीप्रेमीहरूको भीडबीच जब अत्याधुनिक विद्युतीय गाडी ‘दीपल एस-०५’ सार्वजनिक हुँदै थियो, त्यही बेला इतिहासले अनौठो तरिकाले आफूलाई दोहोर्याइरहेको थियो । भविष्यको सवारी मानिएको ‘फ्लाइङ कार’ (उड्ने कार) लाई पहिरोले बाटो छेकेपछि तातोपानी नाकामा मानिसहरूले काँधमै बोकेर नेपाल भित्र्याउँदै थिए ।
यो दृश्य केवल एउटा संयोग थिएन, यो नेपालको अटोमोबाइल यात्राको प्रतिक थियो, जहाँ विगतको संघर्ष, वर्तमानको क्रान्ति र भविष्यको सपना एकैसाथ जीवन्त भइरहेका थिए । यी दुवै घटनाको केन्द्रमा थिए नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धि र विश्वविख्यात चिनियाँ अटोमोबाइल निर्माता चाङ्गान अटो ।
सोल्टी होटलको भव्य समारोहमा एउटा गाडी सार्वजनिक गर्ने कार्यक्रम मात्र थिएन । यो १६३ वर्ष पुरानो इन्जिनियरिङ विरासत बोकेको चाङ्गान र ६० वर्षदेखि नेपाली उपभोक्ताको विश्वास जितेको एमएडब्लु ग्रुपबीचको साझेदारीको उत्सव थियो ।
‘आज राति हामी केवल एउटा गाडी लन्च गरिरहेका छैनौं,’ एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘हामी नवीनता, साझेदारी र नेपालमा यातायातको स्वच्छ, स्मार्ट र थप रोमाञ्चक भविष्यको साझा दृष्टिकोणको उत्सव मनाइरहेका छौं ।’
यो साझेदारीको जग निकै बलियो छ । करिब ५० अर्ब अमेरिकी डलर राजस्व भएको चाङ्गान चीनको तेस्रो ठूलो र त्यहाँको केन्द्रीय सरकारद्वारा लगानी गरिएका १०० कम्पनीमध्ये एक हो । अर्कोतर्फ सन् १९६४ मा मोरङको एउटा सानो इन्जिन वर्कशपबाट यात्रा सुरु गरेको एमएडब्लु आज नेपालको सबैभन्दा ठूलो अटोमोटिभ समूह बनेको छ ।
अग्रवालका अनुसार गत वर्ष मात्र ग्रुपले ३२ हजार ५ सयभन्दा बढी दुई-पाङ्ग्रे, १२ सयभन्दा बढी कार र ५ सय ५० भन्दा बढी हेभी इक्विपमेन्ट बिक्री गरेको थियो । जुन नेपाली बजारमा यसको गहिरो पकड र विश्वासको प्रमाण हो ।
‘लक्जरी, स्टाइल, टेक पर्फेक्टेड’ नारालाई सार्थक तुल्याउँदै दीपल एस ०५ ले नेपाली विद्युतीय गाडी बजारमा नयाँ तरंग ल्याएको छ । यसका विशेषताहरू साँच्चै क्रान्तिकारी छन् । गोल्डेन शिल्ड ब्याट्री २.०ः सीएटीएल द्वारा निर्मित यो ब्याट्रीले ५ हजार साइकलको जीवन प्रदान गर्छ, जुन नेपालमा उपलब्धमध्ये सबैभन्दा लामो हो ।
यसमा रिमोट इन एन्ड आउट यसको अर्थ साँघुरो ठाउँमा पार्किङ गर्दा चाबीकै बटनले गाडीलाई अगाडि÷पछाडि सार्न सकिने सुविधा रहेको छ । अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्लेले चालकको दृष्टिपथमै नेभिगेसन देखाउँछ । जसले ड्राइभिङलाई सुरक्षित बनाउँछ ।
कम्पनीका अनुसार आरामदायी ‘क्वीन को–पाइलट’ सिट र गाडी बाहिर उभिएका व्यक्तिसँग कुरा गर्न मिल्ने बाहिरी स्पिकर जस्ता नवीन विशेषताहरूले यसलाई अरूभन्दा फरक बनाएको छ । जर्मनीमा ‘आइएफ डिजाइन अवार्ड २०२५’ जितेको यस एसयूभीमा एडीएएस २.५ सुइट अन्तर्गत १९ वटा उन्नत सुरक्षा सुविधा छन् । जबकि यस सेगमेन्टमा सामान्यतया ६ वटा मात्र हुन्छन् । कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको हो । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ ।

नेपालको ईभी क्रान्ति र दीपलको भूमिका
नेपाल विश्वमै विद्युतीय गाडी अपनाउने अग्रणी देशहरूमध्ये एक हो । विष्णु अग्रवालले भने, ‘गत वर्ष देशमा बिक्री भएका सबै नयाँ कारहरूमध्ये ७६ प्रतिशत विद्युतीय थिए । ९० प्रतिशत भन्दा बढी बिजुली हरित जलविद्युतबाट आउने हुँदा यहाँ ईभी गाडी राख्नु वातावरण र तपाईंको वालेट दुवैका लागि स्मार्ट छ ।’
दीपलले एक वर्षभन्दा कम अवधिमा नेपालमा ९५० भन्दा बढी एस–०७ बिक्री गरिसकेको छ । एमएडब्लु वृद्धिले देशभर ८ वटा दीपल शोरुम र १२५ भन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ । जसले नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
काँधमा बोकियो फ्लाइङ कार
जतिबेला एस-०५ ले काठमाडौंमा वाहवाही बटुलिरहेको थियो । त्यति नै बेला दीपलको अर्को आश्चर्य ‘ई-भोल्ट’ फ्लाइङ कारले तातोपानी नाकामा सबैको ध्यान खिचिरहेको थियो । आगामी नाडा अटो शो २०२५ को मुख्य आकर्षण बन्न आइपुगेको यो कार पहिरोले बाटो अवरुद्ध हुँदा मानिसले बोकेरै ल्याउनु पर्यो ।
राणाकालमा बाटो नभएर र आज बाटो भएर पनि अवरुद्ध हुँदा दुवै पटक पहिलो सवारीले मानिसकै काँधको सहारा लिनु एउटा अविस्मरणीय घटना बनेको छ ।
‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर भएको यो कार हेलिकप्टर जस्तै सिधै उड्न र अवतरण गर्न सक्छ । चाङ्गान ग्रुपले यस प्रविधिमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरिसकेको छ ।

के छन् विशेषता ?
यो कार चांगानले विकास गरेको इलेक्ट्रीक ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर भएको अत्याधुनिक सवारी हो । यसको अर्थ यो कारलाई उडान भर्न र अवतरण गर्नका लागि रनवे आवश्यक पर्दैन । हेलिकप्टर जस्तै सिधै उड्न र अवतरण गर्न सक्छ । यसमा ‘लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी’ प्रयोग गरिएको छ । जसले कम उचाइमा सुरक्षित उडान सुनिश्चित गर्दछ । साथै कारमा दीपल ब्राण्डका अन्य विद्युतीय गाडीमा पाइने अत्याधुनिक फिचरहरू पनि समावेश गरिएको छ ।
नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले यो कार प्रदर्शनीमा राख्न लागेको हो । नेपालमा पहिलो पटक प्रदर्शनी हुन लागेको यो उड्ने कार हेर्न मानिसहरू निकै उत्सुक देखिएका छन् ।
नेपालको विद्युतीय क्रान्तिमा चिनियाँ समर्थन
नेपाल विश्वमै विद्युतीय गाडी अपनाउने अग्रणी देश बन्दैछ । यो यात्रामा चिनियाँ प्रविधि र लगानीको महत्त्वपूर्ण भूमिका रहेको कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि चिनियाँ राजदूत छेन सोङले बताए ।
‘नेपालले सामना गरिरहेका हरेक चुनौतीमा चीनले साथ दिँदै आएको छ,’ उनले भने, ‘चिनियाँ प्रविधि अँगालेर एमएडब्लु ग्रुपले आफ्नो र नेपालको भविष्य सुरक्षित गरिरहेको छ ।’
दीपल एस-०५ को आगमन र ई-भोल्ट फ्लाइङ कारको प्रवेशले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ । यो केवल दुई उत्पादनको विषय मात्रै होइन, यो चीनको प्राविधिक शक्ति र नेपालको स्थानीय बजारप्रतिको गहिरो समझदारीको उत्कृष्ट उदाहरण भएको अधिकांशको बुझाइ छ ।
जसरी ब्रान्डको नाम ‘दीपल’ (गहिरो नीलो) ले असीमित सम्भावनालाई जनाउँछ । त्यसरी नै यी उत्पादनहरूले नेपालको हरित र समृद्ध भविष्यतर्फको यात्रामा एक मार्गदर्शक प्रकाश बन्ने वाचा कम्पनीको छ ।