काठमाडौं । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा बाढी र पहिरोका घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।
धेरै अन्य बेपत्ता भएका बताइएको छ । आकस्मिक बाढीका कारण पहिरो खस्दा थुप्रै मानिसहरू जमिनमुनि परेका छन् भने केही बाढीको पानीमा बगिएका छन् ।
धेरै स्थानहरूमा आपतकालीन उपाय अपनाउँदै खोज तथा उद्धार अभियान जारी छ।
पाकिस्तान प्रशासित कश्मीरको विपद् व्यवस्थापन एजेन्सीका अनुसार नीलम घाटी क्षेत्रमा फसेका ५५० जना पर्यटकलाई उद्धार गरिएको छ भने ३०० भन्दा बढी पर्यटक अझै फसेका छन् ।
जुन महिनामा मनसुन सुरु भएदेखि पाकिस्तानमा सयौंको ज्यान गइसकेको छ ।
बीबीसी उर्दूका अनुसार एउटै परिवारका छ जना सदस्यको मृत्यु भएको छ । उद्धारकर्मीहरूले पति, पत्नी र तीन बच्चाको शव फेला पारेका छन् भने एक छोरीको खोजी जारी छ ।
अत्यधिक वर्षाका कारण मुजफ्फराबाद, नीलम बाग, नीलम घाटी र झेलम जिल्लाका सबै विद्यालयहरूमा बिदा घोषणा गरिएको छ । प्रभावित परिवारहरूलाई विद्यालय भवनमा सार्ने आदेश जारी भएको छ ।
कश्मीरलाई इस्लामाबादसँग जोड्ने कोहाला र एबटाबाद दर्रा पहिरोका कारण अवरुद्ध भएको छ ।