एशियन लाइफको नाफा २४.५७ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २४.५७ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्ष कम्पनीले  ९ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ८ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन १६.८६ प्रतिशतले वृद्धि भएको छ । 

समीक्षा वर्षमा कम्पनीले ९ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७.२४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले ७ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा वर्षमा कम्पनीको रटेण्ड अर्निङ्गमा ८० करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा २७ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब ७ करोड रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा ४२ अर्ब ५८ करोड रहेको थियो । समीक्षा वर्षमा  कम्पनीको जीवन बीमा कोषको आकार १०.५२ प्रतिशतले बढेको छ । 

समीक्षा वर्षमा ३ अर्ब ३९ करोड शेयर पूँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ, पिई रेसियो ४१.३९ र प्रति शेयर नेटवर्थ १३५.०५ रुपैयाँ रहेको छ ।

Share News