काठमाडौं । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक, एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दीपल एस-०५ एक समारोहबीच सार्वजनिक गरेको छ । दीपल एस-०७ को सफलतापछि बजारमा ल्याइएको यो नयाँ मोडलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौंमा आयोजित भव्य कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया, चंगन अटो साउथइस्ट एसियाका प्रबन्ध निर्देशक झाङ जियानहुआ लगायतको उपस्थिति थियो । कार्यक्रममा दीपलका ब्रान्ड एम्बेसडर तथा पूर्व क्रिकेटर पारस खड्का पनि उपस्थित थिए ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले एमएडब्लुले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कमाएको बताए । उनले भने, ‘नेपालमा कार किन्नु भनेको विश्वासको सम्बन्ध गाँस्नु हो । चंगनको १६३ वर्षको गौरवशाली इतिहास र एमएडब्लुको ६ दशकको विरासतले यो सहकार्यलाई अझ बलियो बनाएको छ ।’

उनले नेपालको ९० प्रतिशतभन्दा बढी बिजुली स्वच्छ जलविद्युतबाट उत्पादन हुने भएकाले ईभी प्रयोग गर्नु वातावरण र उपभोक्ताको खल्ती दुवैका लागि फाइदाजनक रहेकोमा जोड दिए ।
एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दीपल एस-०५ का अत्याधुनिक विशेषताहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । यसमा ’क्वीन को-पाइलट प्यासेन्जर सिट’ र ’वेलकम सिट’ जस्ता सुविधा छन्, जसले गाडीभित्र पस्ने बित्तिकै आरामदायी र प्रिमियम अनुभव प्रदान गर्छ । रिमोट इन एन्ड आउट पार्किङः साँघुरो ठाउँमा पार्किङ गर्दा गाडी बाहिरैबाट रिमोटको सहायताले अगाडि-पछाडि सार्न सकिने सुविधा रहेको छ भने गाडीको गति, नेभिगेसन जस्ता जानकारी सिधै चालकको आँखा अगाडि विन्डस्क्रिनमा देखिने प्रविधि रहेको छ ।
यस्तै गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने अनौठो सुविधा छ । १८ वटा उच्च गुणस्तरका स्पिकर र स्पोटिफाई, युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचर रहेका छन् । यसमा एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचरहरू समावेश छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी हो ।

यसमा सीएटीएल कम्पनीको ’गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको लाइफ ५,००० साइकलसम्म रहेको दाबी गरिएको छ । यो रियल-ह्विल ड्राइभ गाडीले १५ मिनेटमै फास्ट चार्ज हुन सक्छ । यसको स्लिक र प्रिमियम फ्रेमलेस डिजाइनले २०२५ को प्रतिष्ठित ’आईएफ डिजाइन अवार्ड’ जितिसकेको छ ।
कम्पनीले दीपल एस-०५ दुई भेरियन्टमा सार्वजनिक गरेको छ । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि, चिनियाँ राजदूत महामहिम छेन सोङले सफल लन्चको लागि चंगन र एमएडब्लु ग्रुपलाई बधाई दिए । उनले भने, ‘चिनियाँ ईभी प्रविधि विश्वमै अग्रणी छ र नेपाली उपभोक्ताले सबैभन्दा नयाँ र उन्नत प्रविधि प्रयोग गर्न पाउनु खुसीको कुरा हो ।’
उनले एमएडब्लु ग्रुपले चिनियाँ प्रविधिलाई अँगालेर दूरदर्शी निर्णय लिएको र यसले नेपालको आर्थिक र सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

