अमेरिकी सेयर बजार पहिलोपटक ६ हजार ४०० अंक पार, १३.५ ट्रिलियन डलरको नाफा

काठमाडौं । अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । मंगलबार एसएण्डपी ५०० र न्यास्ड्याक कम्पोजिट नयाँ रेकर्डमा पुगेका छन् । जुलाईमा महङ्गी दर अनुमानभन्दा राम्रो आउनुले आगामी महिना फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना बढाएको छ । यसले सेयर बजारमा थप वृद्धि ल्याएको हो ।

एसएण्डपी १।१३ प्रतिशत वृद्धि भई ६ हजार ४४५.७६ अंकमा बन्द भयो भने टेक सेयरको दबदबामा रहेको न्यास्ड्याकमा १.३९ प्रतिशत उछाल आई २१ हजार ६८१.९० अंकमा पुग्यो । डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि ४८३.५२ अंक (१.१० प्रतिशत) बढेर ४४ हजार ४५८.६१ मा बन्द भयो ।

एसएण्डपी अप्रिलको न्यूनतम स्तरबाट ३३ प्रतिशत बढिसकेको छ । यस अवधिमा लगानीकर्ताको कुल सम्पत्तिमा १३.५ ट्रिलियन अमेरिकी डलरको वृद्धि भएको छ । लगानीकर्ताहरू ट्यारिफले देशमा महङ्गी बढाउने डरमा थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशहरूमा उच्च ट्यारिफ लगाएका छन् । 

भारत र ब्राजिल जस्ता प्रमुख व्यापार साझेदारमा ५० प्रतिशतसम्मको ट्यारिफ लगाइएको छ । तर मंगलबार सार्वजनिक भएको महङ्गीको तथ्याङ्कले लगानीकर्ताको विश्वास फर्काएको छ । डाउ जोन्सले जुलाईमा महङ्गी दर २.८ प्रतिशत हुने अनुमान गरेको थियो, तर उपभोक्ता मूल्य सूचकांक (सीपीआई) २.७ प्रतिशत मात्र बढ्यो ।

दर कटौतीको माग

यो रिपोर्ट आएपछि ब्याजदर कटौतीको आशा बढेको छ । व्यापारीहरूको भनाइमा ब्याजदर घट्ने सम्भावना ९४ प्रतिशत छ, जुन रिपोर्ट आउनुअघि ८५ प्रतिशत मात्र थियो । अक्टोबर र डिसेम्बरमा पनि दर कटौतीको अपेक्षा छ। 

ट्रम्पले फेडरल रिजर्भसँग ब्याजदरमा ३ प्रतिशत कटौतीको माग गरेका छन् । अमेरिकी इतिहासमा एकैपटक यति ठूलो कटौती पहिले कहिल्यै भएको छैन । ट्रम्पको भनाइमा उच्च ब्याजदरका कारण अमेरिकाले आफ्नो ऋणमा ब्याजको रूपमा धेरै रकम तिर्नु परेको छ ।

Share News