काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ ।
डोङफेङ र भोयाबीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम) ले भोयामा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ ।
पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९.६९ प्रतिशत स्वामित्व पाउनेछ।
डीएफएएमको ३.३० प्रतिशत हिस्सा हुनेछ र बाँकी १७.०१ प्रतिशत अरू सेयरधनीले राख्नेछन् । यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ ।
भोया डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको यसले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ । नयाँ पूँजीलाई अनुसन्धान र विकास, उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ ।
डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो ।