काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो सकिए लगत्तै नेपाली अटो क्षेत्रको ध्यान नाडा अटो शोतर्फ मोडिएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोले सवारीसाधनका पारखी माझ नयाँ उत्साह र कौतुहलता थपेको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ (नाडा) ले यसपटकको अटो शो विगतको भन्दा भव्य, फरक र आकर्षक हुने दाबी गरिरहेको छ । आयोजकदेखि सहभागी व्यवसायीहरू अहिले अन्तिम तयारीमा जुटेका छन् ।
नाडा अटो शो आउन अब एक हप्ता मात्रै बाँकी रहँदा सहभागी ब्राण्ड र व्यवसायीहरू ग्राहकलाई आकर्षित गर्नेतर्फ रणनीति बनाउन व्यस्त छन् । उनीहरू आफ्नो बजार विस्तार गर्न आकर्षक फिचर र नयाँ प्रविधियुक्त मोडलहरू प्रस्तुत गर्ने रणनीतिमा छन् ।
आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुन लागेको अटो शोमा ठूला ब्राण्डका नयाँ विद्युतीय गाडी मात्र होइन, नेपालमै पहिलोपटक ‘उड्ने कार’ समेत मुख्य आकर्षणको बिन्दु बन्दैछ । यसपटकको नाडा अटो शोको सबैभन्दा ठूलो आकर्षण चाङ्गन अटोमोबाइलको सब–ब्राण्ड दिपलले बनाएको ‘उड्ने अटोनोमस कार’ हुने निश्चित छ ।
नेपालका लागि दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार यो कार नाडा अटो शोमा प्रदर्शनका लागि मात्र राखिनेछ ।
चार पांग्रेमा कुन ब्राण्डले के ल्याउँदैछन् ?
नाडा अटो शोमा चार पाङ्ग्रे सवारीसाधनका स्थापितदेखि नयाँ ब्राण्डसम्मको उल्लेख्य सहभागिता रहने संयोजक अनुप बरालले जानकारी दिए । उनका अनुसार दीपल, अवतार, डङफेङ, सेरेस, टाटा, सुजुकी, आयोन, एक्पेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बिएडब्लु ब्रम्बी जस्ता ब्राण्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन् ।
नाडाका अनुसार एमएडब्लू ग्रुपले दीपल, डङफेङजस्ता धेरै ब्राण्डहरू लिएर सहभागी हुँदैछ ।
दीपलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रूपेश शर्मा भट्टका अनुसार हाल बजारमा रहेका एच जेरो सेभेन, ई जेरो सेभेन जस्ता मोडलका साथै नयाँ मोडल ‘एस जेरो फाइभ’ पनि सार्वजनिक गर्ने तयारी छ ।
त्यस्तै, डङफेङको ‘नामी जेरो वान’ बाहेक अर्को नयाँ मोडल पनि सार्वजनिक गर्ने बुझिएको छ ।
टाटाले आफ्ना लोकप्रिय मोडलहरू नेक्सन, कर्भ ईभी र सफारीलाई नै निरन्तरता दिने भएको छ । नयाँ मोडल ल्याउने विषयमा भने कम्पनीले अझै केही स्पष्ट पारिसकेको छैन ।
यस्तै, सुजुकीले यसपटक आफ्नो ‘स्ट्रङ्ग एसयुभी लाइनअप’ मा जोड दिएको छ । जसमा जिम्नी, नेपालकै सर्वाधिक बिक्री हुने ब्रिजा, ग्रान्ड भिटारा, एसयूभी ई–भिटारा र फ्रन्क्स जस्ता मोडलहरू प्रदर्शन गरिनेछन् । तत्काल नयाँ मोडल लन्च गर्ने योजना भने नरहेको कम्पनीले जनाएको छ ।
नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोमा एट्टो–टु मोडल सार्वजनिक गर्ने तयारी रहेको छ । कम्पनीले अटो शोमा सिलायन–७, एट्टो–वाइन, डल्फिन, एसयुभी सिलायन–७ लगायत मोडल राख्नेछ ।
यस्तै, नाइमामै सहभागी भएको एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले पनि नाडा अटो शोमा सहभागी हुने बताएको छ । कम्पनीका अनुसार नाइमा एक्स्पोमा लन्च भएका ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ गरी दुईवटै मोडेल नाडा अटो शोमा ल्याउन लागेको हो ।
नाडाले प्रेस विज्ञप्तिमा टेस्लाको सहभागिता रहने उल्लेख भए पनि टेस्लाका एक प्रतिनिधिले भने आफूहरू सहभागी नहुने बताएका छन् ।
यसपटकको अटो शोलाई गाडीको खरिद बिक्रीमा मात्र सीमित नराखेर प्रविधि र अनुभवमा केन्द्रित गर्न खोजिएको छ । नाडा अटो संयोजक अनुप बरालले भने, ‘हामीले यसलाई वल्र्ड क्लास नै बनाउन खोजिरहेका छौं । यो गाडीको मात्र होइन, भविष्यको प्रविधि देखाउने प्लेटफर्म पनि हो ।’
अवलोकनकर्ताले ‘फ्युचर टेक्नोलोजी’, ‘मेड इन नेपाल’ प्याभिलियन र पुराना भिन्टेज कारहरूको प्रदर्शनी समेत हेर्न पाउनेछन् । यसले अटो शोलाई सबै उमेर र रुचिका दर्शकका लागि एउटा उत्सवको रूप दिने अपेक्षा गरिएको छ ।
अटो शोका लागि टिकट खरिद गत वर्ष जस्तै यसपटक पनि डिजिटल वालेट ‘खल्ती’ मार्फत गर्न सकिनेछ । विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा १५० रुपैयाँ र अन्य सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको नाडाले जानकारी दिएको छ ।
स्टलहरूको माग अत्यधिक बढेकाले आयोजकले थप डोम बनाएर व्यवस्थापन गर्ने तयारी गरिरहेको नाडा अटो शोका संयोजक बरालले जानकारी दिए ।
अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारी साधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुनेछन् । अटो शोमा ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने नाडाले जनाएको छ । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
‘अटो एक्स्पो कस्तो हुन्छ हामी देखाउँछौं, नाडा अटो शो ईभीमय हुन्छ’ {अन्तर्वार्ता}