अस्ट्रेलियाले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने बताएका छन् ।

यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशका रूपमा मान्यता दिने तयारीबारे बताएका छन् ।

अल्बानिजका अनुसार प्यालेस्टाइन प्राधिकरण (पीए) ले अस्ट्रेलियासँग केही प्रतिबद्धता जनाएका छन्, जसमा सेना र हतियारको संख्यामा कमी ल्याउने, आम निर्वाचन गराउने र इजरायलको अस्तित्वलाई मान्यता दिने कुरा समावेश छ ।

उनीले सोमबार भने, ‘दुई देशलाई मान्यता दिनु यस्तो समाधान हो, जसले मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजा क्षेत्रमा भइरहेको द्वन्द्व, पीडा र भोकमरी समाप्त गर्ने मानवताको सबैभन्दा ठूलो आशालाई बल पुर्याउँछ ।’

त्यसैबीच गाजामा युद्धविरामका लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु भनेको ‘आतंकवादलाई इनाम दिने’ जस्तो भएको टिप्पणी गरेको छ ।

शनिबारदेखि अहिलेसम्म गाजामा भोक र कुपोषणका कारण पाँच जनाको मृत्यु भइसकेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृतकको संख्या २१७ पुगेको छ ।

मन्त्रालयले यो पनि जनाएको छ कि २०२३ देखि अहिलेसम्म इजरायलको सैन्य अभियानमा ६१ हजारभन्दा बढी मानिस मारिएका छन् ।

Share News