निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै, कसको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले झण्डै २५ अर्ब रुपैयाँको व्यवसाय आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा हाल सञ्चालमा रहेका कम्पनीहरूले ३२ लाख ४४ हजार ३८३ वटा बीमालेख बिक्री गरेर ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकल गरेका हुन् ।

बीमा कम्पनीहरूले संकलन गरेको कुल व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । समीक्षा वर्षमा बीमा कम्पनीहरूले मोटर बीमामार्फत १२ अर्ब ९० करोड ५८ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २८.७४ प्रतिशत हो ।

कम्पनीहरूले दोस्रो धेरै व्यापार सम्पत्ति बीमाबाट गरेका छन् । तथ्यांकअनुसार कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा२५.५३ प्रतिशत रहेको छ । कम्पनीहरूले सम्पत्ति बीमामार्फत ११ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, समीक्षा वर्षमा कम्पनीहरूले इन्जिनियरिङ र ठेक्कातर्फ ७ अर्ब ९८ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा १७.७७ प्रतिशत हो । यसैगरी कुल निर्जीवन बीमा व्यवसायमा विविधको हिस्सा ११ प्रतिशत रहेको छ । विविधतर्फ कम्पनीहरूले ४ अर्ब ९४ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, बीमा कम्पनीहरूले सामुन्द्रिकतर्फ २ अर्ब ५६ करोड ३० लाख रुपैयाँ, हवाईतर्फ २ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ, पशुपन्छी तथा कृषितर्फ १ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ र लघुतर्फ ९७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमाको कुल व्यवसायमा सामुद्रिकको ५.७१ प्रतिशत, हवाईको ५.२२ प्रतिशत, पशुपन्छी तथा कृषिको ३.८७ प्रतिशत र लघुको २.१६ प्रतिशत हिस्सा रहेको छ । 

null

Share News