काठमाडौं । गत असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी १ अर्ब रुपैयाँ परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल ७८ बीमा दाबी बापत ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ माग गरिएको हो ।
त्यसमा ६ वटा सम्पत्ति बीमा, ९ वटा सामुद्रिक बीमा, ५ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, १६ वटा मोटर बीमा (निजी) र ४२ वटा मोटर बीमा (सार्वजनिक) दाबी परेको छ ।
प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा ५५ करोड रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी ८ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको बीमा दाबी भएको छ ।
प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल-चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रो पावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।