काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नाइमा नेपाल मोबिलिटी एक्स्पो अवलोकनमा पुगेका छन् । शुक्रबार अध्यक्ष चौधरी नाडाबाट छुटिएर बनेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा ) ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवलोकन गर्न पुगेका हुन् ।
नाडाका अन्य पदाधिकारीहरू सहित एक्स्पोमा पुगेका चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको विकासका लागि नाडा र नाईमाबिचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।
एक्स्पो अवलोकनका क्रममा अध्यक्ष चौधरीले दुई संस्थाहरूको सहकार्यले नेपालको अटोमोबाइल व्यवसायमा देखिएका नीतिगत र व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्न सहज हुने विश्वास व्यक्त गरेको नाइमाले जनाको छ ।
नाइमा नाडाबाट छुटिएर बनेको सवारी साधनका आयातकर्ताहरू मिलेर गठन भएको नयाँ संस्था हो । नाइमाले आयोजना गरेको यो पहिलो एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरू सहभागी छन् ।
गत बुधबारदेखि सुरु भएको एक्स्पो यही साउन २५ गतेसम्म चल्नेछ । यस एक्स्पोमा विद्युतीय सवारी, स्मार्ट मोबिलिटी सोलुसन्स र सडक सुरक्षा प्रविधिहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । आयोजकले ७० देखि ८० हजार मानिसले एक्स्पोको भ्रमण गर्ने अनुमान गरेका छन् ।