‘अटो एक्स्पो कस्तो हुन्छ हामी देखाउँछौं, नाडा अटो शो ईभीमय हुन्छ’ {अन्तर्वार्ता}

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने तयारीमा जुटिरहेको छ । नाडाले यस पटकको नाडा अटो शो विगतको भन्दा फरक हुने दाबी गरिरहेको छ । यही नाडा अटो शोको तयारीबारे नाडाका अध्यक्ष करण चौधरीसँग विकासन्युजका लागि नरेन्द्र विष्टले गरेको कुराकानीको संक्षिप्त अंश :

विगतमा नाडा अटो शो मात्रै हुन्थ्यो । यसपटक दुईवटा एक्स्पो हुँदैछन् । यो नयाँ मोबिलिटी एक्स्पो र नाडा अटो शोलाई कसरी हेरिरहनुभएको छ ?

यसपटकको नाडा अटो शो विगतको भन्दा फरक हुनेछ । फरक हुनेवाला छ । साँच्चिकै अटो शो कस्तो हुन्छ भन्ने कुरा तपाईंहरूले अवलोकन गरेपछि मात्रै थाहा पाउनुहुन्छ । तपाईंहरूले नै यसपटकको अटो शोको मुल्यांकन गर्नुपर्नेछ । त्यसकारण नाडा अटो शोमा आउनुहोला, अवश्य पनि यहाँले हेर्नुहुनेछ र त्यो हेरेपछि कस्तो फिल हुन्छ । पक्कै प्रतिक्रिया दिनुहुनेछ । 

मोबिलिटी एक्स्पो अहिलेसम्मकै भव्य र ठूलो हो भनेर दाबी गरिएको छ । यसमा तपाईंको धारणा के छ ?

म नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोबीच तुलना गर्दिनँ । किनभने नाडाको आफ्नो ५० वर्षको इतिहास छ । यो इतिहासले आफै बोल्छ । नाडा अटो शोलाई पर्खिनुस् । नाडा अटो शो हेर्नुहोला । त्यसपछि म प्रतिक्रिया आफै दिनेछु । अहिले भनिराख्नु पर्दैन । 

विगतका नाडा अटो शो भन्दा यो नाडा अटो शो कत्तिको फरक हुनेछ ?

यस वर्षको नाडा अटो शो प्रदर्शनी नभएर भविष्यको अटोमोबाइल क्षेत्रको झलक दिने महोत्सव हुनेछ । नाडा आफ्नो स्वर्णजयन्तीको संघारमा छ । यो केवल एउटा प्रदर्शनी होइन, सम्पूर्ण अटोमोबाइल क्षेत्रको चाड हो । यसपटक हामीले ‘इनोभेसन र टेक्नोलोजी’ लाई केन्द्रमा राखेका छौं । जहाँ आगन्तुकले भविष्यको सवारी अनुभव गर्न पाउनेछन् । अटो शो ३ लाख स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा आयोजना हुनेछ ।  यो शोले नयाँ मानक स्थापना गर्नेमा हामी ढुक्क छौं । 

शोको मुख्य आकर्षणको रूपमा मुख्य प्रायोजक एमएडब्ल्यू वृद्धिले चाङ्गानको (चार खुट्टे) रोबोट ‘युनिट्री रोबोट’ र भविष्यको सहरी हवाई यातायातको नमूनाको रूपमा ‘दीपल ईभीटीओएल युएभी’ (उड्ने गाडी) को प्रदर्शन गर्नेछ । नेपालमा फ्लाइङ ट्याक्सीसम्बन्धी नीति नभए पनि अटो शोले नीति निर्माणका लागि बहस सिर्जना गर्ने विश्वास हामीले लिएका छौं । धेरै भनिरहनु पर्दैन । नाडा अटो शोमा आएपछि मात्रै अनुभव लिनसक्नुनेछ । नाडाले के के गर्छ यस पटक भनेर ।

नेपालमा ईभीप्रतिको माहोल बढ्दो क्रममा छ । ईभीलाई नाडा अटो शोले कत्तिको प्राथमिकतामा राखेको छ ?

चार पाँग्रेको हकमा त यहाँहरुलाई थाहा नै छ । ९९ प्रतिशत भेहिकल्सहरू सबै ईभी छन् । गत वर्ष पनि ९० प्रतिशत ईभी थिए । यसपटक पनि सम्पूर्ण स्टलमा ईभी नै हुनेछन् । 

नाडा अटो शोमा कत्तिको कारोबार र अवलोकनकर्ता आउने अपेक्षा गर्नुभएको छ ?

हाम्रो एउटै मात्र टार्गेट छ– नाडा अटो शोमा अवलोकन गर्नेको संख्या १ लाखभन्दा बढी हुनेछ । यसपटक धेरै निर्यातकर्ताले मिहिनेत गरेर आफ्नो स्टल बनाउने योजना गरिराख्नु भएको छ । यो योजना के हुन्छ भन्ने कुरा यहाँहरुले नाडामा आएर हेर्न सक्नुहुनेछ । 

दुईटा अटो शो हुनुलाई तपाईले कसरी लिनुहुन्छ ?

मैले पहिलै पनि भनेको थिएँ । म धेरै कुरा अहिले भन्न सक्दिनँ । अब एक्स्पोहरू नेपालमा धेरै हुनेछन् । पहिला पनि हेर्नुहुन्थ्यो भने विभिन्न ब्रान्डहरूले नै एक्स्पो गर्थे । तर नाडाको स्केलमा आजसम्म कहिले भएको पनि थिएन । नाडाले आफ्नो स्केल सधैं म्यानेज गर्छ जस्तो लाग्छ । त्यसको लागि पनि एक्सपेरियन्स गर्न आउनुस्, त्यसपछि बुझ्नुहुन्छ ।


आईसीई सवारीको आयात घट्ने क्रममा छ । नेपालमा आईसीई गाडीको भविष्य अन्त्यतिर जाँदै हो ?

कुनै पनि गाडीहरूको अन्त्य कहिल्यै हुँदैनन् । पछिल्लो समय कसको बजार हिस्सा कति हुने भन्ने मात्र हो । यहाँहरूले देख्नुभएकै छ । डिजेल इन्जिन अहिलेसम्म बन्द भएको छैन । आईसीई गाडीहरुको सधैं केही न केही हिस्सा रहन्छ । 

हाल नेपालको अटोमोबाइल बजारको अवस्था कुन दिशातर्फ गइरहेको देख्नुभएको छ ?

हाल नेपाली अटो बजार ग्रिन इकोनोमीतिर गइरहेको छ । फ्युचर र मोबिलिटीतिर गइरहेको हामी पाएका छौं । यो राम्रो पक्ष हो । अहिले पहिलेको तुलनामा धेरै परिवर्तन भइसकेको छ। 

 सवारीसाधन आयातमा सरकारले तयार   पारेको नयाँ मापदण्डअनुसार मात्र आयात   गर्ने  भनिएको छ । यसप्रति तपाईंको धारणा   के छ ?

यो मापदण्ड छलफलको क्रममा छ । यसबारे    सरकारलाई नाडाले आफ्नो सल्लाह सुझाव    लिखित रूपमा दिनेछ । यो चिज भएपछि    सरकारको उत्साहले हामीलाई धेरै हेल्प गर्छ    जस्तो मलाई लाग्छ । हामीले कुनै पनि पक्षलाई    अर्थात् उपभोक्तालाई मार नपर्ने गरी सरकारलाई   आफ्नो सुझाव दिने छौं । 

 यस वर्षको नाडा अटो शोले   नेपाली  अटोमोबाइल उद्योगमा प्रविधि,   लगानी  र रोजगारीको क्षेत्रमा कस्तो योगदान   पु¥याउने अपेक्षा गर्नुभएको छ ?

नाडा अटो शो नेपाली उपभोक्ताहरु तथा विशेष गरी हाम्रो अटोमोबाइलप्रेमीहरुका लागि चाड हो । यहाँहरूले दशैंमा जस्तो अपेक्षा गर्नुभएको छ । त्यहीं अपेक्षा नाडाले अटो शोमा गरेको हुन्छ । र हामीले पनि गरेका छौं । 

नाडा अटो शोमार्फत ईभी प्रवर्द्धनका लागि कस्तो योजना बनाउँदै हुनुहुन्छ ?

यसबारेको बारेमा नाडा अटो शोमा डाइलग हुनेछ । त्यो टाइममा हामीबाट भन्दा पनि अरुको मुखबाट सुन्दा तपाईंलाई अझै रोचक लाग्नेछ । धेरै कुराहरु सिक्ने अवसरहरु पाउनु हुनेछ । 

के यस्ता प्रदर्शनी बिक्री केन्द्रित मात्र हुन् ?

नाडा अटो शो हाम्रो लागि ठूलो चाड हो । किनभने वर्षभरि हामी अटो व्यवसायीहरूले जति बेच्ने प्रयास गर्छौं, त्यसको ४० प्रतिशत नाडा अटो शोको टाइममा बिक्री हुन्छ । यसपटक पनि त्यही आश गरेका छौं । जुन त्योभन्दा बढी हुनेछ । 

 नाडाका मुख्य चुनौतीहरू र अवसरहरू के   देख्नुभएको छ ? 

 नाडाका चुनौतीबारे चार पाना लामो एनालिसिस   गरेका छौं । त्यसको मैले ठ्याक्कै नाडा अटो   शोको क्लोजिङमा दिनसक्छु । आज यी कुरा   सार्वजनिक गर्न सकिँदैन । 

 नाडा हुँदा हुँदै नाइमा किन स्थापना भयो ?

 म सबैलाई आग्रह गर्छु । नाडा र नाइमाको विषयलाई नकारात्मक रूपमा नलिउँ। सकारात्मक रूपमै लिएर अगाडि बढौं । हामी टुक्रिएका छैनौं । अहिलेसम्म नाइमामा रहेका साथीहरुले नाडाको सदस्यता त्यागेको   छैन । नाडाबाट छुट्टिएर नाइमा खोलिएको कुरा गलत हो ।
 

Share News