काठमाडौं । मंगलबार स्वाभाविक समयभन्दा करिब एक घण्टा अघि नै सेयर बजार बन्द भएको छ । कारोबार खुलेको करिब तीन घण्टामै ५ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको हो । एकै दिनमा ५ प्रतिशतले बढे वा घटेमा सो दिनको कारोवार बन्द गर्ने व्यवस्था छ ।
तीव्र गतिमा बढेको सेयर बजारमा नेप्से परिसूचकले १६०० नाघेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ७६ दशमलब ७९ अंकले बढेर १६१० अंकमा पुगेको छ । बजारमा एक अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार बजार खुलेको पहिलो आधा घण्टामा नै ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि कारोबार रोकिएको थियो । सो अवधिमा नेप्से परिसूचक ४७ दशमलब १० अंकले बढेर १५८० दशमलब ९३ अंकमा पुगेको थियो ।
बजारमा उत्पादनमूलक समूहको परिसूचक स्थिर रहेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक दोेहोरो अंकले उकालो लागेको छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५०३ दशमलब ११ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक, बैकिङ् र होटल समूहको परिसूचक क्रमशः १०६, ८२, ७५ र ७१ अंकले उकालो लागेका छन् ।