जब बेरोजगार युवकको खातामा अर्बौं रुपैयाँ आयो...

काठमाडौं । भारतको उत्तर प्रदेशको दनकौर गाउँमा बस्ने एक बेरोजगार युवकको बैंक खातामा अचानक अर्बौं रुपैयाँ जम्मा भएको अनौठो घटना सार्वजनिक भएको छ ।

२० वर्षका दीपू उर्फ दिलीप सिंहले दुई महिनाअघि कोटक महिन्द्रा बैंकमा आफ्नो खाता खोलेका थिए ।

अगस्ट २ मा दिलीपले बैंकको मोबाइल एपमा लगइन गर्दा उनको होस उड्यो । मुटु तेज गतिमा धड्किन थाल्यो।

खातामा देखिएको रकम थियो- १०,०१,३५,६०,००,००,००,००,००,००,०१,००,२३,५६,००,००,००,००,२९९ भारु ।

दिलीप सिंह

दिलीपले मोबाइल एप बारम्बार बन्द गरे, पासवर्ड फेरे, तर खाताबाट त्यो अर्बौं भारु हराउन मानेन ।

बीबीसीसँगको कुराकानीमा उनले भने, ‘रकम यति ठूलो थियो कि म गन्नै सकिनँ । बस यति बुझें कि यो ३७ अङ्कको संख्या हो । गुगलमा पनि अनुवाद गर्न खोजें, तर त्यहाँबाट पनि केही सहायता मिलेन ।’

दिलीप भन्छन्, ‘मैले धेरैलाई देखाएँ तर कोही पनि त्यत्रो ठूलो रकम गन्न सकिरहेका थिएनन् ।’

क्यामरा अगाडि जब दिलीप आफैले रकम गन्ने प्रयास गर्छन्, उनी दश अर्बसम्म गनेपछि हार मान्छन् र भन्छन्, ‘यसपछि त मलाई गन्न आउँदैन ।’

दिलीपले कक्षा १२ सम्म पढेका छन् र हाल बेरोजगार छन् । उनी केही समयदेखि कामको खोजीमा छन् ।

बैंक खातामा अर्बौं रुपैयाँ देखेपछि दिलीपलाई सुरुमा लाग्यो कि यो कुनै प्राविधिक त्रुटि हुनसक्छ, तर बारम्बार जाँच गर्दा पनि उही रकम देखिइरहेको थियो ।

दिलीप भन्छन्, ‘मलाई लाग्यो- यत्रो पैसा छ भने केही त प्रयास गरौं अनि १० हजार रुपैयाँ अर्को खातामा ट्रान्सफर गर्ने प्रयास गरें । तर, सकिनँ, बैंकले मेरो खाता फ्रीज गरिदियो ।’

‘म त्यत्रो पैसा देखेर छक्क परें । एकछिन त लाग्यो लटरी लागेको हो, तर लटरी पनि यत्रो ठूलो त पक्कै हुँदैन,’ उनले थपे ।

जब दिलीप सिंहसँग सोधियो कि अर्बौं रुपैयाँ आउनु अघि खातामा कति पैसा थियो, उनले भने, ‘१०–२० रुपैयाँ मात्र थियो ।’

दिलीपले आफैले कोटक महिन्द्रा बैंकमा अनलाइन सेभिङ खाता खोलेका थिए ।

कोटक महिंद्रा बैंक

जब खातामा अर्बौं रुपैयाँ देखियो, उनी आफै बैंक गइ खबर गरे । बैंकले उनलाई भने, ‘डराउनु पर्दैन । जुन रकम देखिएको छ त्यो वास्तवमा रुपैयाँ होइन, यो एउटा प्राविधिक त्रुटि हो ।’

दनकौर थानाका सब इन्स्पेक्टर सोहनपाल सिंहले बीबीसीसँग भने, ‘पुलिसले अनुसन्धान गरिसकेको छ । फोनपे र बैंक स्टेटमेन्ट जाँच गर्दा युवकको खातामा शून्य रुपैयाँ देखिएको छ ।’

उनले थपे, ‘पुलिसले बैंकसँग पनि सम्पर्क गरेको छ। प्राविधिक त्रुटिका कारण एउटा विशेष एपमा यस्तो रकम देखिएको हो, तर वास्तविकतामा खातामा एक रुपैयाँ पनि छैन ।’

दिलीपको खातामा अर्बौं रुपैयाँ आएको खबरले दनकौर सहरभर चर्चा पाएको छ । विगत केही दिनदेखि पत्रकारहरू पनि लगातार दिलीपसँग भेट्न आइरहेका छन् ।

दिलीपका एक छिमेकी भन्छन्, ‘मेरो नाम पनि दिलीप हो । त्यसकै कारणले गर्दा मानिसहरूले मलाई पनि फोन गरिरहेका छन् । यहाँ धेरैजसो जनता गरिब छन् । यत्रो रकम खातामा देखेपछि सबैजना चकित छन् ।’

उनी थप्छन्, ‘दिलीपका साथीहरू बैंकको ब्यालेन्स स्क्रिनशट लिएर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । केही पोस्ट त भाइरल समेत भएका छन्। ’

Share News