काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यावसायिक विद्युतीय सवारीसाधनहरू पनि उपलब्ध गराउन थालेको छ ।
अब यसले फारिजन, चेरी वान्डा र किङ लङजस्ता प्रसिद्ध ब्रान्डहरूअन्तर्गत १४ देखि १९ सिटर क्षमताका विद्युतीय भ्यानहरू बजारमा ल्याएको छ ।
नेपाल हाल संसारमै सबैभन्दा तीव्र गतिमा ईभी अपनाउने देश बनेको छ र निजी सवारी पछिपछि अहिले व्यावसायिक विद्युतीय सवारीहरूमा पनि तीव्र वृद्धि देखिएको छ ।
फारिजन १९ सिटर ईभी भ्यानको मूल्य ७६ लाख ९० हजार रुपैयाँदेखि सुरु छ । शंकर समूहको जगदम्बा मोटर्सले चीनको जीली अन्तर्गतको ब्रान्ड फारिजनको ईभी ल्याएको हो ।
यो गाडी लामो दूरी, उकालो बाटो र उच्च भारका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
गाडी युरोपेली युनियन डब्ल्यूभीटीए प्रमाणित रहेको छ ।
यसमा १७० किलोवाट इलेक्ट्रिक मोटर रहेको छ जसले शक्तिशाली प्रदर्शन गर्ने कम्पनीले दावी गरेको छ । यसैगरी गाडीमा ८२.८८ किलोवाट लिथियम ब्याट्री रहेको छ ।
चेरी वान्डा १४ सिटर माइक्रोबसको मूल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ भने ब्याट्री ५३.५८ किलोवाटको रहेको छ । यसले फूल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
गाडीको ब्याट्रीमा ५ वर्ष वा ३ लाख किमी वारेन्टी रहेको छ भने मोटरमा ५ वर्ष वा २ लाख किमी वारेन्टी दिइएको छ ।
यो माइक्रोबस चिनियाँ शीर्ष ब्रान्डहरू चेरी र वान्डाको संयोजनमा बनेको हो र दैनिक सहरभित्रको ओसारपसार तथा व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो ।