काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एसयूभी फोर्थिङ ‘फ्राइडे’ बुधबारबाट औपचारिक रूपमा सार्वजनिक भएको छ । डङफेङ ग्रुप अन्तर्गतको यस गाडीलाई नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर विशेष लन्चिङ अफरसहित बजारमा ल्याइएको हो ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा ठूलो र फराकिलो मानिएको यो गाडीलाई 'बिगर एसयूभी'को रूपमा पनि हेरिएको छ । सन् २००१ देखि नै स्थापित र विश्व बजारमा आफ्नो पहिचान बनाइसकेको फोर्थिङ ब्रान्डको फ्राइडे मोडल अब नेपाली ग्राहकका लागि पनि उपलब्ध भएको हो ।
फोर्थिङ फ्राइडेले आफूलाई एक लक्जरियस एसयूभीको रूपमा प्रस्तुत गरेको छ । यसमा प्रिमियम फिचरहरू रहेका छन् ।
यो गाडी नेपालमा उपलब्ध अन्य ईभीहरूमध्ये सबैभन्दा ठूलो ब्याट्री प्याक भएकोमध्ये एक हो । यसमा ६४ किलोवाट आवरको ब्याट्री छ, जसले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ ।
फोर्थिङ फ्राइडे विशेषगरी सहरी र राजमार्गका लागि उपयुक्त भए पनि सामान्य अफरोडका लागि पनि सक्षम रहेको बताइएको छ । यो फोर-ह्विल ड्राइभ नभए पनि नेपालका मध्यम स्तरका कच्ची बाटोहरूमा पनि सहजै चल्न सक्ने कम्पनीको दावी छ ।
नाइमा मोबिलिटी एक्स्पोको अवसरमा कम्पनीले यस गाडीमा विशेष छुटको घोषणा गरेको छ । सुरुवाती मूल्यबाट ४ लाख रुपैयाँ घटाएर यसको स्टार्टिङ भेरिएन्ट ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । यो अफर केवल मोबिलिटी एक्स्पो अवधिभरका लागि मात्र लागू हुनेछ ।