पोखरा । विद्युतीय सवारीको क्षेत्रमा अग्रणी बन्ने लक्ष्यसहित प्रोटोन नेपालले पर्यटकीय शहर पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पोखराको बुद्धचोकमा उद्घाटन गरिएको उक्त शोरुमले कम्पनीको प्रमुख ईभी मोडल प्रोटोन ईमास ७ को प्रत्यक्ष अनुभव प्रदान गर्नेछ ।
काठमाडौंमा सफल सुरुवातपछिको यो दोस्रो शोरुम हो । कम्पनीले सन् २०२५ भित्रै नेपालभर विद्युतीय सवारी साधन (ईभी) को व्यापक नेटवर्क विस्तार गर्ने रणनीति लिएको छ । पोखराको शोरुम यही लक्ष्यतर्फको महत्वपूर्ण पाइला हो ।
शोरुम उद्घाटन अवसरमा ग्राहकहरूका लागि टेस्ट ड्राइभ, व्यक्तिगत परामर्श, सरल फाइनान्स योजना र सरकारी अनुदानबारे जानकारी उपलब्ध गराइएको थियो । बिक्रीपछि सर्भिसलाई थप प्रभावकारी बनाउन, प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामै तेस्रो सर्भिस सेन्टर स्थापना गरेको छ ।
शोरुमको उद्घाटन वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, होटल संघ नेपाल (पोखरा च्याप्टर), एनवाईईएफ, विभिन्न मिडियाकर्मी र अटोमोबाइल क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शोरुम उद्घाटनसँगै प्रोटोन ईमास ७ सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त सवारीको स्मार्ट प्रविधि, दिगो ऊर्जा प्रयोग र सस्तो सञ्चालन खर्चका विशेषताहरूबारे जानकारी दिइयो ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, 'पोखरामा प्रोटोनको उपस्थिति केवल व्यापारिक विस्तार मात्र होइन, स्वच्छ ऊर्जा अभियानतर्फको हाम्रो दृढ प्रतिबद्धताको पनि प्रतीक हो । हामी पश्चिमी क्षेत्रभर स्वच्छ र स्मार्ट मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं ।'
नेपाल विद्युतीय यातायात र वातावरणीय जागरणतर्फ अघि बढिरहेको सन्दर्भमा पोखरामै प्रोटोनको उपस्थिति विस्तार हुनु राष्ट्रिय स्वच्छ ऊर्जा अभियानका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
यस अवसरमा जगदम्बा मोटर्सले पहिलो साता प्रोटोन खरिद गर्ने ग्राहकहरूका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि घोषणा गरेको छ ।