आइएमई मोटर्सले पायो अशोक लेल्यान्डको ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

काठमाडौं । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा आयोजित उक्त सम्मेलनमा आइएमई मोटर्सले इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै यो अवार्ड हात पारेको हो ।

आइएमई मोटर्स र अशोक लेल्यान्डबीचको एक दशक लामो सफल साझेदारीको अवसरमा प्राप्त यस सम्मानले दुवै कम्पनीबीचको सम्बन्धलाई थप सशक्त बनाएको छ । अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास र सेवा उत्कृष्टताप्रतिको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको आइएमई मोटर्सले जनाएको छ ।

यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय सेवा मापदण्डमा आइएमई मोटर्सले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेको हो ।

आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो उपलब्धिलाई कम्पनीका प्रत्येक टेक्निसियन र सर्भिस टिमको निरन्तर समर्पणको प्रतिफल बताएका छन् । 'हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं,' श्रेष्ठले भने ।

कम्पनीका कार्यकारी निर्देशक निशान ढकालले यस अवार्डले आइएमई मोटर्सको सेवा प्रतिबद्धतालाई थप सुदृढ बनाएको उल्लेख गर्दै सेवा सुधारमा निरन्तर प्रयत्न गर्ने बताए । 'यो सम्मानले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाहमा हामीलाई थप हौसला दिएको छ,' उनले भने ।

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले सहकार्यको १० वर्षको सफल यात्रा मनाउँदै यो सम्मानले ग्राहक अनुभवलाई सशक्त बनाउने साझा प्रतिबद्धतालाई झल्काएको बताए ।

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता र योगदानका आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ ।

यो अवार्ड आइएमई मोटर्स मात्र नभई सम्पूर्ण नेपाली अटोमोबाइल क्षेत्रकै लागि पनि गर्वको विषय भएको कम्पनीले जनाएको छ ।

Share News